द्वन्द्व : चक्र उही

द्वन्द्व : चक्र उही


  • ई. गणेशराज वस्ती

पदमा हुँदा कति कति फुलेँ
पाउनका लागि यो-
कहाँ-कहाँ डुलेँ !
नपाउन्जेल त म
कति सानो पनि भएँ !
जसकोमा पनि गएँ…
जे पनि ‘हुन्छ’ भनेँ !
कहिले हतियार उचालेँ
कहिले मतियार भएँ
नैतिकता के हो भुलेँ
स्वाभिमान बिर्सिएँ
इमान्दारिताको गला निमोठेँ
कान लुछेँ आँखा निकालेँ !
विचरा यो !
कानो भयो, बहिरो भयो
झोक्रायो !
चिसोले भेटेछ कि !
कोरोना लागेछ कि !
कोरोनाजी !
फोक्सोमै पुगेछन् कि !
मेरो इमान्दारिता ठहरै भयो !
यसबाट मलाई फाइदा नै भयो
डर हरायो
लाज भागी गयो ।
पद पाउने लालच
थप जागी गयो
काइदा भयो !
अहिले त म !
मोटाएँ कति-कति !
आफ्नै आँखा !
मासुभित्र हराउँदा दङ्ग छु ।
गालामा नै हेलिप्याड-
बनाउँदा हुन्छ झैँ भएछ ।
पदको कमाल !
केही गल्ती गरेजस्तो कहिल्यै लाग्दैन !
नजानेको पो के छ र ?
अझै योभन्दा माथि
केही पो छ कि !
हेर्ने देख्ने रहर छ ।
तर त्यसका लागि
चक्र उही जारी छ ।