कचनकवलमा तीन किशोरी झुण्डिएर मृत अवस्थामा

कचनकवलमा तीन किशोरी झुण्डिएर मृत अवस्थामा


दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेका छन् ।

कचनकवल-५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार कचनकवल-५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको हुन सक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन ।

सोही चिया बगानमा काम गर्दै आएका उनीहरू शनिबार दिउँसोदेखि घरबाट सम्पर्कविहीन भएको र आज बिहान रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ । घटनास्थलमा प्रहरी खटाइएको र अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए ।