पाकिस्तानमा वर्षा र बाढीका घटनामा सय जनाको मृत्यु, ५७ घाइते

पाकिस्तानमा वर्षा र बाढीका घटनामा सय जनाको मृत्यु, ५७ घाइते


भारी वर्षाका कारण पाकिस्तानमा सय जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् । देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आएको भारी वर्षा र बाढीले अन्य थुप्रै विस्थापित भएका एएनआईले जनाएको छ ।

त्यहाँको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार सो प्रान्तमा हालैको भारी वर्षाका कारण जम्मा ६ हजार ६३ घर भत्किएका छन् भने ५५० किलोमिटर सडक ट्र्याक भत्किएको छ ।

त्यसैगरी भारी वर्षाका कारण ७१२ भन्दा बढी जनावरको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रदेशमा अझै भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले एक महिनाका लागि आपत्कालीन धारा १४४ लागू गरेको थियो ।

सो धारा लागू भएसँगै मानिसहरूलाई नदी, बाँध र अन्य जलाधार क्षेत्रमा वनभोज लगायातका अन्य मनोरञ्जनात्मक जमघट गर्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।

हालैको अविरल वर्षाका कारण २ हजार ५ सयभन्दा बढी घर पूर्णरूपमा र १ हजार ४ सय १७ घरमा आंशिक क्षति पुगेको पीडीएमएको प्रतिवेदनले उल्लेख गरेको छ ।

यसअघि पाकिस्तानको मौसम विभागले शुक्रबारदेखि मङ्गलबारसम्म प्रान्तका विभिन्न जिल्लामा थप भारी वर्षा हुने पूर्वानुमान गर्दै सबै सम्बन्धित निकायलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सुझाव दिएको थियो । पछिल्ला केही दिनयता पाकिस्तानमा भारी वर्षाका कारण विद्युतीय करेन्ट लागेका थुप्रै घटनाहरू सार्वजनिक भएका छन् ।

वर्षाको पानी मुख्य सडकमा जम्मा भइ सवारी आवागमनमा समस्या भएको छ भने जम्मा भएको पानीले धेरै सवारीसाधनहरू बिग्रिएको अवस्थामा छन् ।

अविरल वर्षाले थुप्रै घर र गाउँ डुबानमा परेका छन् भने विभिन्न बाली र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । सडक भत्किएसँगै दुर्गम क्षेत्रहरूसँगको सम्बन्ध र सम्पर्क समेत विच्छेद भएको छ ।