भारतीय कंग्रेसका चार सांसद निलम्बित

भारतीय कंग्रेसका चार सांसद निलम्बित


मूल्यवृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कांग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ । अगस्ट १२ मा सकिने बर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो ।

निलम्बित कांग्रेस सांसदहरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन् । यसअघि सभामुख ओम बिरलाले राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न उनीहरूलाई चेतावनी दिएका थिए ।

सभामुखको कारबाहीपछि चारै जना सांसदले संसद् परिसरमा रहेको महात्मा गान्धीको शालिकनजिक गएर नाराबाजी गरेका थिए ।

सांसदमाथि गरिएको निलम्बनको कंग्रेसले विरोध गरेको छ । केही सांसदलाई निलम्बन गरेर सरकारले आफ्ना सांसदलाई धम्की दिन खोजेको कांग्रेसले आरोप लगाएको छ । ‘हाम्रा सांसदहरूले जनताको लागि महत्त्वपूर्ण मुद्दाहरू उठाउन खोजिरहेका थिए’, कांग्रेसको भनाइ छ ।