विदुरस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय भवनको स्वामित्व हस्तान्तरण

विदुरस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय भवनको स्वामित्व हस्तान्तरण



मित्रराष्ट्र भारतको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीद्वारा संयुक्त रूपमा उद्घाटन गरिएपछि मंगलबार जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको छ ।

भवन उद्घाटन कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोग २ करोड ५० लाख लागतमा सामुदायिक विकास परियोजनाको रुपमा उक्त भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘æIndia@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरू मध्येको एक रहेको बताइएको छ ।

त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर केआई सिंहले यस विद्यालयको डिजाइन गरेका हुन् । यस विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरूलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ । यो परियोजनाले भारत र नेपालबीच लामो समयदेखि रहीआएको सहकार्यलाई प्रतिबिम्बित गर्ने सम्बद्ध पक्षको दाबी छ ।

ज्ञातव्य छ, सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुपक्षिय विकास साझेदारी रहेकोे छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस विद्यालय परियोजनाको कार्यान्वयनले शिक्षालगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने सरोकारवालाको भनाइ रहेको छ ।