नारायणगढ-मुग्लिङ सडक खण्डमा फेरि पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

नारायणगढ-मुग्लिङ सडक खण्डमा फेरि पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह


नारायणगढ-मुग्लिन सडक खण्डमा फेरि पहिरो जाँदा सयौँ सवारी साधन रोकिन पुगेका छन् ।

भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा मंगलबार राति पुनः पहिरो खसेपछि पूर्वपश्चिमतर्फ लागेका सयौँ सवारी साधान रोकिन पुगेका हुन् ।

पहिरोस्थललगायत आसापासमा रहेका प्रहरीले बस्ती भएको ठाउँमा सवारी साधान पार्किङ गर्न अनुरोध गरेको छ । यात्रुहरुलाई खानपिन, शौचालय लगायतमा समस्या नहोस भनेर प्रहरीले सवारी चालकलगायतसँग अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार बुधबार राति साढे २ बजेतिर मौरीखोला पुलमा फेरि पहिरो गएकाले पन्छाउने कार्य भने जारी राखिएको छ । उनका अनुसार सोमबार राति ११ बजे पनि पहिरो खसे पछि २३ घण्टा पछि मंगलबार राति पौने १० बजे उक्त पहिरो सफा गरेर सवारी खुलाइएको थियो । तर, लगत्तै बुधबार राति पनि सोही ठाउँमा पहिरो गएका कारण सयौँ सवारी साधन रोकिन पुगेका छन् ।

बुधबार राती खसेको पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति भए पनि थप धनजनको भने क्षति हुन पुगेको छैन ।

पहिरोका कारण बाटोमा सोमबार रातिदेखि कै सयौं सवारीहरू अलपत्र अवस्थामा रहेका छन् भने पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारीहरु बस्ती भएको छेउछाउमै रोक्नका लागि माइकिङ गरेको छ ।