सुदूरपश्चिम प्रदेशमा अपराधिक क्रियाकलापको श्रृङ्खला बढ्दै

सुदूरपश्चिम प्रदेशमा अपराधिक क्रियाकलापको श्रृङ्खला बढ्दै


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशमा विभिन्न अपराधिक क्रियाकलापको श्रृङ्खला बढ्दै गएको पाइएको छ । प्रदेशभर गत आर्थिक वर्ष २०७८/०७९ मा जघन्य अपराध, गम्भीर अपराध र सामान्य अपराधको श्रृङ्खला बढ्दै गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशभरको अपराधको विद्यमान अवस्था अनुसार कर्तव्य ज्यान ५८, जबर्जस्ती करणी २३५ अपहरण तथा शरीर बन्धक ३ मानव बेचविखन ८ गरि जघन्य अपराध ३०१, ज्यान मार्ने उद्योग ७३, गर्भ संरक्षणविरुद्धको कसुर १, आत्महत्या दुरुत्साहन ३०, डाँकाचोरी ४ र अन्य चोरी १७६ गरि जम्मा २८४ गम्भीर अपराध तथा सार्र्वजनिक शान्ति सुरक्षाविरुद्ध १३२, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार २०१, सार्र्वजनिक स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकतविरुद्धको कसुरमा ४४७ गरि जम्मा ७८० मुद्धा दर्ता भएको जनाएको छ ।

यसैगरी महिला बालवालिका तथा जेष्ठ नागरिकविरुद्धको अपराधमा पनि जबर्जस्तीकरणी, बाल यौनदुराचार, ज्यान मार्ने उद्योग, बालविवाह, बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप, जातीय छुवाछुतलगायतका ४२७ घटनाहरु उजुरीको रुपमा दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।

विभिन्न खालका जघन्य गम्भीर तथा सामाजिक तथा सार्वजनिक अपराधका घटनामा मादक पदार्थ सेवनलाई मुख्य कारणको रुपमा औल्याईंएको छ भने सामाजिक सञ्जालको बढ्दो प्रयोग र दुरुपयोग, सामाजिक विकृति, उद्दण्डता, सामाजिक कुरीति, जातीय विभेद, अशिक्षा गरिबी तथा अन्धविश्वास, घरायसी रिसिइबी, अवैध सम्बन्ध, प्रेम सम्बन्ध र परिबन्ध एवं यौनजन्य अपराध पश्रय गर्ने जस्ता विविध कारणहरु रहेको प्रहरीले जनाएको छ ।

अधिकांश घटना तथा अपराधहरु आर्थिक वर्ष २०७८/०७९ मा विगतको तुलनामा त्रिवर्षीय तथ्यांकको आधारमा वृद्धि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरिक्षक भोला रावलले जानकारी दिए । प्रहरीका अनुसार केही घटना घरपरिवार तथा आफन्तबाट घटेका र केही विभिन्न अन्य कारण पनि भएको नेपाल प्रहरीको प्रदेश अपराधको विद्यमान अवस्थाका बारेमा तयार गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।