(ब्यङ्ग्य कविता)
– अर्जुनराज पन्त
लाउने खाने बस्तु सबै आउँथ्यो त्यही देशको
भित्रिएछ दाँत कोट्याउने छेस्को पनि उसको !
केचाहिँ बिक्छ नेपालमा अध्ययन गरि-गरि
पठाइहाल्छ चाइनिज सामान उसले बजारभरि
प्लास्टिकका चामल बेच्छ टाँस्सिउन् दाँतमा भनि
कोट्याएर झिक्नुपर्ने दन्त गनि-गनि
पहिला बेच्छ प्लास्टिक चामल अनि बेच्छ छेस्को
शरिर मात्रै हाम्रो भयो सामान सबै उसको
ओस्सिएको चाम्रो गुन्द्रुक दिन्छ बुढा खसी
कोट्याएर झिक त्यही उसकै सिन्का धसी
मुखभित्रका सबै चिज अड्किने र निल्ने
सिन्को पनि उसकै हुँदा जोडा भने मिल्ने
जेको पनि पैसै पार्ने ब्यापारीको धर्म
केको मतलब हुन्छ त्यहाँ कर्म र कुकर्म
व्यापारी ती चिनियाँले के नै खेर फाल्छन् ?
प्रयोग भा’का सामान पनि एउटा भाँडाँ हाल्छन्
पठाइदेलान् तिनै सिन्का हल्का घाममा सुकाइ
नयाँ प्याकेट भित्र–भित्र मिसाएर लुकाइ
जलचर-थलचर सबै खाने रैछ तिनको बानी
हुँदाखेरि तिनका सिन्का मुखभित्र लानी
जस्तो पनि मुखमा हाल्दा अर्को आपत पर्ला
अनेक थरि तिनका रोग तिमलाई पनि सर्ला
हुँदाखेरि सर्वाहारी निस्क्यो महामारी
फैलिए ती जताततै सन्सार ध्वस्त पारी
त्यैँ निस्किन्छन् महामारी सन्सार ध्वस्त पार्ने
यस्ता बेलाँ तिन्का सामान ल्याउने हो कि बार्ने ?
त्यति जाबा सिन्का त सकिन्छ भो चिर्न
पर्दैनथ्यो देशको पैसो आज बाहिर तिर्न
बाँसदेखि सिमल सल्ला केका छैनन् बुटा ?
दाँत कोट्याउन ल्याउनैपर्ने त्यहाँदेखि ठूटा !
जे चिज पनि बाहिरै किन्दा चल्ला कति देश-घर
सक्ने चिज त बनाउनु नि, पर्छौ उसकै भर !
- बाग्लुङ मुलपानी
प्रतिक्रिया