बल्ल सरकारले हामीलाई चिनेछ, अझ चिन्नेछ…

बल्ल सरकारले हामीलाई चिनेछ, अझ चिन्नेछ…


नागरिकता उपलब्ध गराउने यो सरकारबाट भोट दिन पाउने व्यवस्था पनि हुनेछ भन्ने हाम्रो आवाज कुनै निकाय वा सञ्चारमाध्यमबाट पुऱ्याइदिनुहोस् भन्ने उहाँहरूको माग पङ्क्तिकारले स्मरण गराएको मात्र हो । यस विषयमा सरकारले कसरी सोच्न सक्छ सोचोस् !
  • मुक्तिनाथ खनाल

‘यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार एवम् सदनले बल्ल हामीलाई चिनेछ, ज्यादै खुशी र गौरवको कुरा हो’, यो भनाइ थियो नेपालबाट अध्ययन र रोजगारीको खोजीमा अमेरिका, अष्ट्रेलिया एवम् युरोप आदि अरब मुलुकमा बसोबास गर्ने युवाहरूको ।

उनीहरूमध्ये कोही एनआरएनए जस्ता सामाजिक सेवाका संस्थामा संलग्न छन्, जसले आफ्नो देश नेपालको विपत्तिमा ठूलो सहयोग पु¥याएका छन् । त्यस्ता युवाशक्तिहरू र पछि आफ्नै देशको निमित्त पनि केही गर्न सकौँ भन्ने उद्देश्य राख्दै ज्ञान आर्जन गर्न अध्ययन या जाने विद्यार्थी एवम् रोजगारको खोजीमा जाने युवा शक्तिसमेत भोलि-भोलि आफ्नै देशमा फर्केर केही गर्न सक्ने उद्देश्य बोकेका युवाहरू अहिले यो सरकारको निर्णयले आधा खुशी बनेका छन् । अर्थात्, नागरिकतासमेत नपाएका केही नेपालीहरूले अब नागरिकता पाउने भए । कुन प्रोसेस या काहाँबाट कसरी पाउने हुन् त्यो व्यवस्था हुँदै जाला ।

त्यति मात्रले विदेशमा बस्ने नेपालीहरू अवश्य प्रशन्न छैन नहोला । उनीहरूले प्राप्त नागरिकताको साथसाथै आफ्नो देशका जनप्रतिनिधिहरूलाई भोट दिन पाउने अधिकार पनि खोजिरहेका छन् । सम्भवत त्यो अधिकार पनि सरकारबाट चाँडै निर्णय हुनेछ भन्ने ती विदेशमा बस्ने नेपालीहरू ठूलो आशा र भरोसामा बसेको पाइन्छ ।

हुन त विदेश भ्रमणमा गइरहने मन्त्री, सचिवहरूले उनीहरूको मर्म नबुझेका होइनन्, बुझेका छन् । यो पङ्क्तिकार पनि आफैं कामले बाहिरी देश घुम्दै जाँदा देखिन्छ कि विदेशमा बस्ने नेपाली दाजुभाइहरू आफ्नो देशको निमित्त यति गौरव गर्दछन् कि कुनै पनि नेपाली चाडपर्वमा र नेपालबाट जाने मन्त्री कर्मचारी वा लोकसांस्कृतिक देखाउने अथवा कुनै कामले नेपाली दाजुभाइ आज भेट्दा उनीहरू यति खुशी हुन्छन् कि आफ्नै सरकार, आमा, बाबु आएको जस्तो मान्दछन् । उनीहरूलाई भेट्न वा हेर्न आउँदा राष्ट्रिय पोसाक, टोपीमा खुकुरी सजाएर आउँछन्, अर्थात् आफ्नो देशप्रति र उनीहरूप्रति उनीहरूमा ठूलो गौरव छ भन्ने बुझिन्छ ।

विदेशमा विद्वान् नेपालीहरू पनि छन्, कति वकिल, डाक्टर, इञ्जिनियर प्रोफेसर त कोही सामान्य कामदार पनि मैले नगिचबाट चिनेको एकजना प्रोफेसर भरतराज पौडेल सायद उहाँ तनहुँका एक वरिष्ठ राजनीतिज्ञका भाइ/भतिज पर्ने हुनुहुन्छ होला । अष्ट्रेलियाको क्वीन्सल्याण्ड स्टेट (राज्य) व्रिसवनमा कलेज (क्याम्पस) पढाउनुहुँदोरहेछ । उहाँसँग कुरा गर्दा उहाँमा पाइने शैक्षिक ज्ञानको साथै देशप्रति व्यक्तिगत सम्मानको उच्च आदर्श, त्यस्तै, सम्मानित पोसाकमा कलेज जाने । अरु स्थानीय प्रोफेसरहरू सट्पाइन्टमा क्याम्पस गएको देखिन्थ्यो भने नेपाली प्रोफेसर भरत पौडेल भने जस्तोसुकै गरम सिजन होस्- कोट लगाएर नै क्याम्पस जानेमा नभइ बाहिर हिँड्दा घुम्दै पनि कोटमै रहनुहुन्छ भन्ने सुनियो र, देखियो पनि । उहाँ आफ्नो पेसागत इज्ज्तमा हमेसा रहन सक्नुहुँदो रहेछ भन्ने बुझेर पनि खुशी लाग्यो ।

त्यस्तै, नेपालको प्रतिष्ठा राखेर काम गर्ने नेपाली सिनियर डाक्टर अनिल शर्मा, डा. विक्रम तिमिल्सिना, पत्रकार एवम् नेपाली लयर्स किरण खनाललगायत उच्च तहमा काम गर्ने नेपालीहरूसँगको मेरो सम्पर्कमा उहाँहरूको एउटै भनाइ थयो- नेपालीहरू विदेशमा आएर दुःखसाथ कमाइ नेपालमा पठाएको (रेमिटेन्स) रकमले देश धानिएको छ र आपतविपतमा एनआरएनको सहयोग उपलब्ध भने हामीहरूलाई आफ्ना जनप्रतिनिधिहरू छान्ने (भोट दिन पाउने) अधिकार पनि आफूले काम गरेको ठाउँबाटै अथवा नगिजको कुनै राजदूतावास वा अरु कुने निकायमार्फत त्यो सुविधा प्राप्त भएमा नेपालीत्वको गौरव बढ्ने थियो । आशा छ, नागरिकता उपलब्ध गराउने यो सरकारबाट भोट दिन पाउने व्यवस्था पनि हुनेछ भन्ने हाम्रो आवाज कुनै निकाय वा सञ्चारमाध्यमबाट पुऱ्याइदिनुहोस् भन्ने उहाँहरूको माग यो पङ्क्तिकारले स्मरण गराएको मात्र हो । यस विषयमा सरकारले कसरी सोच्न सक्छ सोचोस् भन्ने मेरो अनुरोध छ ।