लेखक स्वयम्बाट अपमानित कृतिःमयूर टाइम्स

लेखक स्वयम्बाट अपमानित कृतिःमयूर टाइम्स


-दीपकमणी दाजुभाइ
पारिजातले शिरीषको फूलपछि पनि धेरै उपन्यास लेखिन् । तोरीबारी बाटा र सपनाहरू पारिजातको चर्चित उपन्यास हो । त्यसो त महत्ताहीन पनि कम चर्चामा छैन । ध्रुवचन्द्र गौतमले अलिखितपछि पनि दर्जनौँ उपान्यास लेखेका छन् र सबैलाई पाठकहरूले रुचाएका छन् । चपाइएका अनुहार लेख्ने दौलतविक्रम विष्टले ज्योति ज्योति महाज्योतिजस्ता गहन उपन्यास लेखेका छन् । बीपीका सबै उपन्यास एकसेएक छन् । र पनि सुम्निमाको चर्चालाई कुनैले भ्याएन ।
शिरीषको फूलपछि छापिएका पारिजातका कुनै पनि कृतिलाई शिरीषको फूलकी लेखिकाको कृति भनेर विज्ञापन गर्नुपरेन । ध्रुवचन्द्रका कुनै पनि उपन्यासमा अलिखितका लेखकको उपन्यास भन्नुपरेन । बीपीका उपन्यासहरू सुम्निमाका लेखकको भन्नु परेको छैन ।
आफ्ना प्रत्येक कृतिको छुट्टै अस्तित्वको लेखकहरूले सम्मान गर्छन् । यही सम्मानका खातिर कुनै नयाँ कृतिमा पुरानो फलानो कृतिको लेखकको कृति भन्न रुचाउँदैनन्- लेखकहरू । नयाँ कृतिमा पुरानो कृतिको लेखकको कृति भनेर लेख्नु नयाँ कृति माथिको अविश्वास मात्र होइन अपमान पनि हो ।
मयूर टाइम्स, लेखक नारायण वाग्लेबाट अपमानित कृति हो । लेखक स्वयम्ले सम्मान गर्न नसकेको र छुट्टै अस्तित्व स्वीकार्न नसकेको कृति हो मयूर टाइम्स ।
उपन्यासको आवरणको शीर्षभागमा विशेष महत्त्व दिएर लेखिएको छ- पल्पसा क्याफेका लेखकको मयूर टाइम्स । नारायणले पल्पसा क्याफे नलेखेका भए मयूर टाइम्स लेख्ने थिएनन् ? या नारायण वाग्लेको मयूर टाइम्स आफैंमा पूर्ण छैन ? मयूर टाइम्सले पूर्ण अस्तित्वका लागि के पल्पसा क्याफेको बैसाखी
टेक्नैपर्छ ? पल्पसा क्याफेको बैसाखीबिना नै मयूर टाइम्स ठमठम्ती हिँड्न सक्दैन, पाठकको मनसम्म ?
-हुन त यहाँनेर नारायण र नेपालयले विदेशतिर लेखकको उत्कृष्ट कृतिको नाम जोडेर नयाँ कृतिहरू बजारमा आउने गरेका छन् भनेर एक्स्क्युज पाउन सक्छन् । तर पनि यो कता-कता नयाँ कृतिको अपमन नै हो ।)
किताव हातमा पर्नासाथ हामीलाई लाग्यो- मयूर टाइम्स लेखिसकेपछि नारायणलाई नै लागेको हुनुपर्छ, यो पल्पसा क्याफेझैं राम्रो भएन ।
र, लेखक स्वयम्बाट अपमानित मयूर टाइम्सलाई ससम्मान हामीले पढ्न सुरु गर्‍यौँ, र यहाँनेर भनिहालौँ- ससम्मान पढ्न सुरु गर्नुको एउटै कारण थियो, यो हामी दुर्इ दाजुभाइको तन्नेरी मनमा बस्न सफल तथा प्रिय लेखक नारायण वाग्लेको कृति हो । कलेजकालीन अन्तिम दिनहरू हामी कफी गफ खुब स्वाद मानेर पढ्थ्यौँ । टिनएज पार गर्दागर्दैकै स्थितिमा हामी नारायणको कफी गफको फ्यान बनिसकेका थियौँ । उसलाई देख्दा र भेट्दा हामीलाई असीमित खुसी मिल्थ्यो र मिल्छ ।
पल्पसा क्याफेले कफी गफको लाजलाई जोगाएको हाम्रो ठम्याइ छ । तर मयूर टाइम्स – मयूर टाइम्सले कफी गफ र पल्पसा क्याफे दुवैको लाजलाई जोगाउन सकेन । कफी गफ र पल्पसा क्याफेको हाराहारीमा कहीँ कतै पनि पुग्न सकेन- मयूर टाइम्स । मयूर टाइम्स औसत लेखकहरूको औसत कृतिहरूका हाराहारीमा मुस्किलले पुग्छ ।
मयूर टाइम्स सहरीकरणतर्फ उन्मुख समाज र गाउँले जीवनको पृष्ठभूमिमा गठन गरिएको उपन्यास हो । यसको प्रमुख पात्र पराग यादव तर्राई मूलकी महिला पत्रकार हो । जागिरे पितासँग पहाडमा बसेर एसएलसी पढाइ पूरा गर्छे. उच्च शिक्षाका लागि काठमाडौं आउँछे । जनसञ्चारमा मास्टर्स गर्छे, बैंकमा काम थाल्छे । यत्तिकैमा भेट हुन्छ, बालसखा लिसरा पुनसँग । यही भेटपछि पराग मयूर टाइम्सकी सम्पादक बन्छे र अघि बढ्छ उपन्यास ।
मयूर टाइम्समा छापिएका समाचारहरूका कारण अनेक सशस्त्र गिरोहबाट अपहरण र ज्यानको धम्की आउन थाल्छ । परागको दैनिकीमा तनाव सुरु हुन्छ । यही आएर नारायणले कथालाई सङ्घर्ष र करुणाको फ्लेवर दिएका छन् । उपन्यासले माओवादी द्वन्द्वको दुस्प्रभावको अवशेष सघन रूपमा आएको छ । पहाडबाट विस्थापित हुन पुगेका अधिकांश परिवारका पीडाका तस्बिरहरू अनुभव हुन्छ- बेलाबेलामा उपन्यासभित्र । उपन्यासले माओवादी द्वन्द्व र मधेस आन्दोलनले उत्पन्न गरेको विकट डरलाग्दो स्थितिलाई विभिन्न घटना र प्रसङ्गसित जोडेर ल्याइएको छ ।
उपन्यासको सौर्न्दर्य भनेको मयूर नगर हो । मयूर नगर लेखकको कल्पना मात्र होइन । वास्तविकता पनि हो । मुलुकभित्र र बाहिर धेरै ठाउँमा यस्ता सन्धिस्थलहरू छन्, जहाँ फरक-फरक स्थानबाट उपेक्षित अनुभव र आफ्नोपनका सुन्दर सपनाहरू हुन्छन् । मयूर नगरमा बस्ने महिमा मिस, लिसराकी आमा, चियापसल्नी बूढी सबैका आँखामा छचल्किएका छन्- आफ्नोपनको सपना । उनीहरूको आँखामा देखिएको आफ्नोपनको यो सपनालाई नारायणले सुन्दर रूपमा उतारेका छन् ।
मधेस आन्दोलन, त्यसपछिको प्रशासनिक असफलता र राजनीतिक अपराधीकरण आदिको गहिराइमा उपन्यास प्रवेश गर्दैन । पत्रकार परागलगायतको मिडिया समूह शान्तिसुरक्षासित सम्बद्ध निकाय तथा अपराधी समूहको त्रिकोणात्मक सम्बन्धमा उपन्यासका घटनाहरू ऋषि बढ्छन् । तर, सिलसिला भङ्ग भएको छ ।
मयूर टाइम्सको अर्को सुन्दर पक्ष भनेको यो नायिकाप्रधान उपन्यास हो । यसले ग्रहण गरेको विषयवस्तु र उठाएको प्रश्न निक्कै गम्भीर छ । देशको गन्तव्य र भविष्यको कार्यदिशा जोडिएको छ ।
नारायणको यो बानी पनि हो । ऊ अक्सर गम्भीर र दार्शनिक विषयको उठान गर्छ । सरल र सहज भाषाशैलीमा सबैले पढ्न सक्नेगरी बाहिर ल्याउँछ । यो मयूर टाइम्समा पनि छ । तर, पल्पसा क्याफेमा जस्तो मिहिनेत नारायणले यसमा गरेको देखिँदैन ।
उपन्यासको कमजोर पक्ष भनेको छिटो-छिटो अघि बढ्ने घटना र मैथली शब्दावलीको गलत प्रयोग नै हो । उपन्यासलाई छरितो बनाउन नारायणले घटनालाई छिटो अघि बढाएको छ । र, ठाउँठाउँमा अस्वाभाविक देखिएको छ । त्यस्तै आञ्चलिकता ल्याउने लोभमा नारायणले मैथली शब्दावलीहरू प्रयोग गरेको छ । कति शब्दको अर्थ र त्यसको सही रूपलाई बुझ्दै नबुझी नारायणले प्रयोग गरेका छन् ।
मयूर टाइम्स जसरी बजारमा आएको छ । जति प्रचारबाजी भएको छ । त्यो राम्रो पक्ष हो । पाठकसम्म पुग्न प्रचार-प्रसार र बजारको अध्ययन राम्रो कुरा हो । यसले लेखक र पाठकबीचको दूरी कम गर्न मद्दत पुग्छ । कृतिको साजसज्जा र छपाइ उत्कृष्ट छ । किताब हातमा पर्नासाथ थाहा हुन्छ- यो तर्राईलाई पृष्ठभूमि बनाएर लेखिएको किताब हो । यस अर्थमा आवरण पनि सफल छ ।