‘मेनोपोज’को कुरा गरौँ

‘मेनोपोज’को कुरा गरौँ


मेनोपोजको समय असाध्यै गाह्रो भएकाहरूलाई पोष्ट मेनोपोज थप पीडादायी हुने रहेछ । ‘पोष्ट डिजास्टर’ भौतिक संरचना र मानवीय संवेदनासँग सम्बन्धित भएजस्तै पोष्ट मेनोपोज शारीरिक संरचना र मानसिक उतारचढावसँग सम्बन्धित हुने रहेछ ।
  • बबिता बस्नेत

‘पोष्ट कन्फ्क्टि’, ‘पोष्ट डिजास्टर’ जस्ता शब्दहरूका बारेमा सुनेको र यी विषयमा गरिने चर्चा–परिचर्चामा सहभागी भएको भएता पनि ‘पोष्ट मेनोपोज’को बारेमा सुनेकी थिइनँ । ‘पुरुषलाई पनि मेनोपोज हुन्छ ?’ र ‘आफ्नै शरीरमा क्लाइमेट चेन्ज भएपछि’ शीर्षकमा लेख लेखेपछि मेनोपोजका बारेमा जानकारी राख्ने मान्छेका रूपमा केही डाक्टर साबहरूले यो विषयमा कुरा गर्न ‘रिफर’ गर्नुभएको थियो । ब्यक्तिपिच्छे फरक अनुभव हुने हुँदा मैले आफ्नो बारेमा मात्रै भन्न सक्ने बताउने गरेकी थिएँ । मेनोपोज अर्थात् महिलाको महिनावारी रोकिने प्रक्रिया कतिसम्म पीडादायी हुन सक्छ भन्ने बारेमा आफूलाई नपरुञ्जेल खासै सुनेकी थिइनँ । महिला र स्वास्थ्यको बारेमा विभिन्न विषयमा छलफल र कुराकानी हुने गरे पनि मेनोपोजका बारेमा खासै चर्चा हुने नगरेकाले यो प्रक्रियाको बारेमा धेरैलाई थाहा छैन । जसका कारण आफूलाई परेपछि ‘लौन मलाई एक्कासी के भयो ?’ भनेर धेरै महिलाहरू आत्तिने गरेका छन् ।

सुरुको अवस्थामा शरीर घरी तातो, घरी चिसो हुने र बेला-बेलामा सिरिङ्ग हुने हुँदा किन यस्तो भइरा’छ ? के हो यो ? भन्ने लागेको थियो । मेनोपोज कसैलाई ४० वर्षको हाराहारीमा त कसैलाई ४५ वर्षको आसपास हुने रहेछ । तर कतिलाई हिजोआज ३८ वर्षमै पनि हुने गरेको पाइएको छ । अर्लि मेनोपोज (समयभन्दा अगाडि रजनोवृत्ति) हुनेहरूलाई थप गाह्रो हुने हो कि जस्तो लाग्यो । यसका तीन वटा चरण हुँदारहेछन्, पूर्वअवस्था, मुख्य अवस्था र पछिको अवस्था । मेनोपोजको समय असाध्यै गाह्रो भएकाहरूलाई पोष्ट मेनोपोज थप पीडादायी हुने रहेछ । ‘पोष्ट डिजास्टर’ भौतिक संरचना र मानवीय संवेदनासँग सम्बन्धित भएजस्तै पोष्ट मेनोपोज शारीरिक संरचना र मानसिक उतारचढावसँग सम्बन्धित हुने रहेछ ।

शारीरिक संरचनाको हिसाबले हेर्दा खानेकुरा कम गर्दा या तालमेल नमिल्दा शरीरको वजन मात्र होइन हड्डी नै सानो हुँदै जाने, अलिकति बढी खायो भने ह्वात्तै वजन बढ्ने । अड्कलि-अड्कलि खानेहरूलाई पनि घरी प्रेसर बढ्ने, घरी मुटुको धड्कन बढेझैँ हुने, शरीरमा केही न केही भइरहने । खाना, शारीरिक अभ्यास, निन्द्रा सबै कुराको तालमेल मिलाउनुपर्ने । गोलमोटल लक्षणका कारण आफूलाई के भएको हो डाक्टरलाई राम्ररी भन्न नसकिने । राति निन्द्रा नलाग्ने, पैताला तातो हुने, खल्खली पसिना आउने । मानसिक र भावनात्मक मूल्य त झनै बढी । कसैले सानो कुरा भन्दा पनि ठुलो जस्तो लाग्ने, कोही मान्छे बोलेको सुन्दा कति बोलेको होला जस्तो लाग्ने । उठिरहेको बेला बसुँ जस्तो हुने, बसिरहँदा उभिन मन लाग्ने, एक प्रकारको छटपटी, ‘इरिटेशन’ ! मानिसहरूको भीडमा एक्लै जस्तो, एक्लै हुँदा भीडभाडमै छु जस्तो । एकैछिन अघि दङ्ग पेरर हाँसिरहेको मान्छे एकैछिनमा दु:खी जस्तो महससू हुने, सम्झ्यो दु:खी र खुशी दुवै हुनुपर्ने कारण खासै केही छैन । जिन्दगी असहज बन्नुपर्ने केही देखिँदैन । के भइरा’छ मलाई ? अनौठो छटपटीका बीच आफूले आफैलाई प्रश्न गर्ने तर जवाफको खोजी नगर्ने या गरे पनि यही भएको हो भनी जवाफ नपाइ जिन्दगी अघि बढाउने महिलाहरूको सङ्ख्या ठुलो छ ।

घरमा पतिले ‘तिमीलाई के भइरहेको छ ?’ भनेर राम्ररी सोध्नुको साटो छोराछारीहरूसँग ‘तिमीहरूकी आमा बौलाइरहेकी छ, केही बोल्नै हुँदैन’ भन्ने ! सन्तानले पनि ‘आमा तपाईंलाई किन यस्तो भइरहेको छ, पहिला त यस्तो हुनुहुन्नथ्यो’ भनेर सोध्नुको सट्टा ‘तपाईंसँग त कुरा गर्नु नै बेकार’ भन्दै पर-पर हुने ! कामकाजी आमा छन् भने एटीएम मसिन झैँ पैसा चाहिएको बेला मात्र नजिक हुने या राम्ररी बोल्ने । यसरी घर घर होइन जस्तो, कार्यालय कार्यालय होइन जस्तो बडो कठिन अवस्थाबाट गुज्रिएका महिलाहरूको सङ्ख्या ठुलो छ ।

महिनावारी रोकिएको एक वर्षपछि हुने छटपटीलाई पोष्ट मेनोपोज भनिदोरहेछ । मेनोपोजको केही महिना अत्यन्त कष्टकर समय बिताएर शारीरिक संरचना र मानसिक उतारचढाव अलि कम भएपछि अब बल्ल सहज भयो भन्ने लाग्दैगर्दा पोष्ट मेनोपोजका लक्षणहरू देखापर्ने रहेछन् । यो सबैलाई हुन्छ भन्ने छैन तर धेरैजसो महिलाहरूलाई पोष्ट मेनोपोजले दु:ख दिएको पाइन्छ । यस्तो बेलामा सन्तान र पतिसँग महिलाहरू रिसाउने, झर्कने, यदि कामकाजी भए कार्यालयमा साथीहरूसँगको ब्यवहारमा चिड्चिडाहट देखिने । घरमा पतिले तिमीलाई के भइरहेको छ ? भनेर राम्ररी सोध्नुको साटो छोराछारीहरूसँग तिमीहरूकी आमा बौलाइरहेकी छ, केही बोल्नै हुँदैन भन्ने ! सन्तानले पनि आमा तपाईंलाई किन यस्तो भइरहेको छ, पहिला त यस्तो हुनुहुन्नथ्यो भनेर सोध्नुको सट्टा तपाईंसँग त कुरा गर्नु नै बेकार भन्दै पर-पर हुने ! कामकाजी आमा छन् भने एटीएम मसिन झैँ पैसा चाहिएको बेला मात्र नजिक हुने या राम्ररी बोल्ने । यसरी घर घर होइन जस्तो, कार्यालय कार्यालय होइन जस्तो बडो कठिन अवस्थाबाट गुज्रिएका महिलाहरूको सङ्ख्या ठुलो छ ।

मेनोपोजपछि महिलाहरूलाई फरक-फरक मनोवैज्ञानिक समस्या हुने रहेछ । त्यसमध्ये यो पङ्क्तिकारले भेटेकी एक कामकाजी महिला प्राय: ब्यागमा पिरियड हुँदा लाउने सेनेटरी प्याड बोकेर हिँड्दीरहिछन् । कुरा गर्दै जाँदा उनले भनिन्- ‘महिनैपिच्छे कति किन्नु भनेर नछुने हुँदा लाउने प्याड अलि धेरै किनेर राखेकी थिएँ । अहिले रोकिएपछि केही देउरानीलाई दिएँ । एउटाचाहिँ बोकेरै हिँड्छु, यसो ब्याग खोल्दा यसको नछुने रोकिएको रैनछ भन्ने ठानुन् न मान्छेले ।’ महिनावारी रोकिएपछि अब म बुढी भएँ भन्ने मनोविज्ञानबाट धेरै महिलाहरू गुज्रिएको पाएँ । मानिस जन्मिएपछि वृद्ध हुनु सामान्य कुरा हो र कुनै पनि बेला हुन सक्ने मृत्युबाट हामी भाग्न सक्दैनौँ भन्ने कुरा बुझ्न/बुझाउन सकिएको छैन ।

मेनोपोज खासमा महिलालाई मात्र नभइ पुरुषलाई पनि हुँदोरहेछ, जसलाई एण्ड्रोपोज भनिन्छ । पुरुषहरूको हरमोनमा हुने परिवर्तन एण्ड्रोपोज हो । जसका कारण पुरुषहरू पनि शारीरिक र मानसिक फरकपनबाट गुज्रिन्छन् । पुरुषहरूको महिनावारी नहुने हुँदा आफूलाई भइरहेको छटपटिप्रति पुरुषहरू अनभिज्ञ हुने गरेको अनुसन्धानहरूले देखाएका छन् । न्युयोर्क टाइम्समा सन् १९७३ मै मार्था विन्म्यान लेयरले ‘इज द्येर मेल मेनोपोज ?’ शीर्षकमा लामो लेख लेखेकी रहिछन् । १९४७ मा अमेरिकामा ३० जना पुरुषको केस स्टडीसहित यससम्बन्धी अनुसन्धान प्रतिवेदननै सार्वजनिक गरिएको रहेछ, जसमा ४० देखि ६० वर्षका पुरुषहरूमध्ये धेरैले हर्मोनको असन्तुलनका कारण शारीरिक र मानसिक कठिनाइ भोग्नुपरेको उल्लेख गरिएको छ । युटुबमा पनि यस सम्बन्धमा सामाग्रीहरू प्रसस्त भेटिन्छन् ।

मानसिक र भावनात्मक मूल्य त झनै बढी । कसैले सानो कुरा भन्दा पनि ठुलो जस्तो लाग्ने, कोही मान्छे बोलेको सुन्दा कति बोलेको होला जस्तो लाग्ने । उठिरहेको बेला बसुँ जस्तो हुने, बसिरहँदा उभिन मन लाग्ने, एक प्रकारको छटपटी, ‘इरिटेशन’ ! मानिसहरूको भीडमा एक्लै जस्तो, एक्लै हुँदा भीडभाडमै छु जस्तो ।

मेनोपोज या पोष्ट मेनोपोज र एण्ड्रोपोजको समय महिला पुरुष दुवैका लागि कठिन समय हो । कसैलाई यो धेरै पीडादायी हुने र कसैलाई कम हुने हुन्छ । कति महिलाहरू यो समयमा डिप्रेसनको सिकार भएका छन् । कतिलाई मानसिक तथा शारीरिक दुवै समस्या हुने गर्छ भने कतिलाई शारीरिक मात्रै पनि हुन सक्छ र कतिलाई केही नहुन पनि सक्छ । तर केही समस्या नहुनेहरूको संख्या भने कमै हुन्छ । असुरक्षित महसूस गर्ने हुँदा महिला होस् या पुरुष यस्तो बेलामा पारिवारिक सहयोगको जरुरी हुन्छ । तर यो संवेदनशील अवस्थालाई नबुझ्दा कतिपय पति-पत्नीको सम्बन्धमा दरार आउने गरेको पनि पाइएको छ । पुरुषको हकमा आफूलाई के भएको हो भन्ने नबुझ्दै जीवन बितेर जाने रहेछ । यसमा जुन लक्षणहरू देखा पर्छन् ती सुगर, प्रेसरका लक्षणसँग मेल खाने र उक्त उमेरमा धेरैमा यी रोगहरू देखापर्ने गरेका कारण प्राय: पुरुषहरूले आफूलाई तिनै रोगहरूका कारण यस्तो भएको हो भन्ने निष्कर्ष निकाल्ने गरेको अनुसन्धानहरूले देखाएका छन् । यदि पुरुषहरूले आफुलाई एण्ड्रोपोज भएको जानकारी पाउने हो भने सोहीअनुरुप आफूमा आएको परिर्वतनको ब्यवस्थापन गर्ने थिए होला भन्न सकिन्छ ।

अधबैंशे उमेरमा हुने यो समस्यालाई ब्यापक चर्चाको विषय बनाइनु जरुरी छ । आफुलाई के भएको हो भन्ने थाहा नपाइ अन्योलमा पर्नु र यो भएको हो भन्ने थाहा पाएर सचेतता अपनाउनुबीच ठुलो अन्तर हुन्छ । मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ- पृथ्वी, अकाश, पानी, हावा, आगो । यी सबै तत्व महिलार पुरुष दुवैमा हुने हुँदा त्यसमा उत्पन्न हुने असन्तुलनले शारीरिक र मानसिक क्रियाकलापमा प्रभाव पार्नु स्वभाविक हो । यसलाई विशेष अवस्था मानी महिला पुरुष दुवैले आफूले आफैलाई सन्तुलनमा राख्न सके समस्याबाट मुक्ति सम्भव छ ।

हामीकहाँ महिनावारी र सेनेटरी प्याडको बारेमा बल्ल खुलेर कुराकानी हुन थालेको छ । राज्यले केही कार्यक्रम पनि अघिसारेको छ, जुन राम्रो कुरा हो । मेनोपोजका बारेमा पनि राज्य स्तरबाट जनचेतना जगाउने देखि मनोपरामर्श दिनेसम्मका कार्यक्रम अघि सार्नुपर्छ । एउटा निश्चित उमेर पुगेपछि हरेक महिलाले भोग्नुपर्ने यो कठिन परिस्थितिका बारेमा घरपरिवारका सदस्य, नागरिक समाज, मिडिया, नीति-निर्माता सबैले सरोकार राखेर आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नु आवश्यक छ ।