गिरिको महाप्रस्थान र आडम्बरी नेता !

गिरिको महाप्रस्थान र आडम्बरी नेता !


मार्क्स र माओका नाममा ‘क्रान्ति’ र ‘जनयुद्ध’ नै गरेर आफूलाई सत्ता-शक्तिमा स्थापित गर्ने खुंखार कम्युनिष्ट नेताले समेत हात जोडेर गिरिलाई श्रद्धाञ्जली दिएका देखियो । गिरिजस्ता त्यागी, निःस्वार्थी र वास्तविक समाजवादी नेताको देहावसानले अपुरणीय क्षति पुगेको अभिव्यक्ति ती नेताले दिए । ‘प्रदीप गिरिको व्यक्तित्व-स्मरणले मात्र पनि समाज र राष्ट्रको सेवामा लागिरहन प्रेरणा प्रदान गर्ने’सम्मका बोली तिनका मुखबाट अभिव्यक्त भयो ।

प्रखर समाजवादी चिन्तक एवम् दार्शनिक व्यक्तित्व प्रदीप गिरिको गत शनिबार निधन भयो । नेपाली काङ्ग्रेसका नेता गिरिको महाप्रस्थानपछि सामाजिक सञ्जालका भित्ता उहाँबारेका शब्दहरूका साथ निकै रङ्गियो । दार्शनिक व्यक्तित्वका रूपमा समेत सुपरिचित दिवंगत गिरिप्रति अर्पित श्रद्धाञ्जलीका शब्द मात्र नभइ दाहसंस्कारका लागि आर्यघाटमा उपस्थित मानव-सागर पनि उल्लेख्य रह्यो । जीवनमा खास ओहदा, शक्ति वा सम्पन्नताबेगर पनि मृत्युपछि यसरी सम्मान पाउने व्यक्ति-व्यक्तित्व बिरलै हुन्छन् । र, प्रदीप गिरि त्यो कोटीमा पर्ने व्यक्तित्व हुनुहुन्थ्यो जसले मृत्युपछि पाएको भन्दा निकै बढी सम्मान-कदर जीवनकालमै प्राप्त गर्नु पर्दथ्यो ।

स्वर्गीय प्रदीप गिरि अब्बल काङ्ग्रेसी हुनुहुन्थ्यो, तर काङ्ग्रेसइतरकाले समेत उहाँलाई सच्चा समाजवादी र मार्क्सवादीका रूपमा बुझे । आफूलाई खाँटी मार्क्सवादी ठान्नेहरूले नै गिरिलाई गुरु मान्न हिच्किचाएनन् । अर्थात्, धुरन्धर मार्क्सवादी भन्नेहरूलाई पनि प्रदीप गिरिले मार्क्सवाद पढाइदिनुहुन्थ्यो, छर्लङ्ग हुने गरी ! तसर्थ, उहाँको महाप्रस्थानमा श्रद्धाञ्जली दिन के काङ्ग्रेस, के कम्युनिष्ट, के तटस्थ वा स्वतन्त्र- सबैखाले विचारवाहक तथा तहतप्का स्वतःस्फूर्त रूपमा सहभागी भए । यहाँसम्म कि मार्क्स र माओका नाममा ‘क्रान्ति’ र ‘जनयुद्ध’ नै गरेर आफूलाई सत्ता-शक्तिमा स्थापित गर्ने खुंखार कम्युनिष्ट नेताले समेत हात जोडेर गिरिलाई श्रद्धाञ्जली दिएका देखियो । गिरिजस्ता त्यागी, निःस्वार्थी र वास्तविक समाजवादी नेताको देहावसानले अपुरणीय क्षति पुगेको अभिव्यक्ति ती नेताले दिए । ‘प्रदीप गिरिको व्यक्तित्व-स्मरणले मात्र पनि समाज र राष्ट्रको सेवामा लागिरहन प्रेरणा प्रदान गर्ने’सम्मका बोली तिनका मुखबाट अभिव्यक्त भयो ।

प्रदीप गिरिबारे जो-जसले उल्लिखित शब्द-श्रद्धाञ्जली दिए, यो स्वाभाविक थियो । स्वर्गीय गिरि यसको हकदार नै हुनुहुन्थ्यो । तर, यस्ता कति पात्र बितेर गए जसको गुणगान मृत्युपछि मात्र गरियो ! समाज र देशलाई जति नै ठूलो योगदान पुऱ्याएको भए पनि, जति नै महान् काम गरेका भए पनि जीवित रहँदासम्म उसका बारे कुनै सरोकार नराख्ने, दुःख-सुख नबुझ्ने, पीडा-क्रन्दन नसुन्ने, अनि मृत्युपछि अतिरञ्जनापूर्ण जयजयकार गर्न शर्म नमान्ने राज्य तथा समाज छ हाम्रो । प्रदीप गिरिको सन्दर्भमा त झन् राज्य, उहाँसम्बद्ध राजनीतिक दल, सच्चा समाजवादी चिन्तक भन्दै ओठेभक्ति दर्शाउने वामपन्थीहरू र उहाँका निकटजन भनाएर गौरव महसूस गर्ने यावत पात्रहरू सबै-सबै नै गिरिको जीवनकालभर उहाँप्रति ‘क्रुर’ प्रतीत भए । आज जुन तहबाट दिवंगत गिरिको स्तूतिगान गरिँदै छ, जीवनकालमै भइदिएको भए, उहाँको स्वास्थ्यावस्थाबारे खै-खबर लिने कर्म राज्यले समयमै गरिदिएको भए आज ‘असामयिक निधन’ भएको भन्दै कोकोहोलो गर्नुपर्ने थिएन कि !

समाज र राष्ट्रको कल्याण कसरी हुन्छ भन्ने चिन्तनमा समाजको तल्लो तहमै जोडिएर निमग्न रहने र, जुनसुकै विधा वा विषयका सवालमा पनि जिज्ञासुको उत्कण्ठा बुझ्ने भाषामा मेटाइदिन सक्ने विलक्षण खुबी प्रदीप गिरिको थियो भन्नेमा अझ ज्यादा व्याख्या-विश्लेषण हुँदै जाने अनुमान गर्न सकिन्छ । तर, त्यस्तो विलक्षण पात्रको बौद्धिकता राष्ट्रको हितमा दोहन गर्नबाट राज्य वा समाज जसरी चुक्यो, यसको पूर्ति कसरी होला भन्ने सवालको औचित्य वर्तमान राज्य वा राज्यसञ्चालकहरूका माझ ‘भैंसीको अघिल्तिर विन बजाउनु’ भन्ने आहानतुल्य नै हो । किनकि, गिरिको महाप्रस्थानमा गोहीको आँशु चुहाएलगत्तै सत्ताको फोहोरी खेलमा ती लिप्त भइसकेका छन् । राजकीय सम्मानका साथ दाहसंस्कार गरिएका पात्र, जो कहिल्यै पदाशक्तिमा परेनन्, शानसौकतको जीवन बाँच्ने मोहबाट पर रहे, छुद्र राजनीतिक दाउपेचबाट भरसक आफूलाई पन्छाउँदै जो सादगीपूर्ण खुल्ला जिन्दगीमा रमाए, सत्ता-शक्ति हासिल हुनु या राजनीतिक पदमा आसिन हुनु भनेको फगत् जनता र देशको निम्ति निःस्वार्थ भावले सेवा गर्नका लागि हो भन्दै जसले आजीवन व्यवहारपरक ज्ञान बाँडिरहे, त्यस्ता व्यक्तिको पार्थिव शरीर भष्म पारेर स्मसान घाटबाट फर्किंदानफर्किंदै कुर्सीको बाँडफाँडमा हारालुछ गरिनु कस्तो विडम्बना !

जुन मुलुकको केन्द्रीय राजधानी नै फोहोरको डङ्गुरले दुर्गन्धित हुन्छ र, त्यसको व्यवस्थापन विदेशीले गरिदिनुपर्ने, मिल्न सकिने कुरामा पनि दल-दल वा नेता-नेताको घाँटी अर्काले जोडिदिनुपर्ने, जनता बेरोजगार रहँदै आफू टाक्सिएर पनि नेता पाल्न कर तिरिदिनुपर्ने, परजीवीभन्दा तल्लो हैसियतमा गिरेका नेताका कुरा सुनिदिनुपर्ने/आदेश मानिदिनुपर्ने, अनि सचेतनाको राग अलाप्दै उनै निकृष्ट नेताको दास बन्न हरदम तत्पर रहने ‘सचेत-दास’हरूको देश बनेको छ नेपाल ! जति नै अप्रिय लागे पनि यथार्थ यही हो । यस्तोमा कुनै विद्वत् सादगी पात्रविशेषको महाप्रस्थानमा राजनीतिजीवीहरूद्वारा कोक्किने अभिनय गर्नु पनि मुलुकलाई थप भ्रमित पार्ने प्रयत्न मात्रै हो भन्दा अत्युक्ति नहोला ।