- डम्बर निदाल, डडेल्धुरा
सुदूरपश्चिमका दुई पहाडी जिल्ला डडेल्धुरा र डोटीबाट सवारीचालक अनुमतिपत्र (डट्टाइभिङ लाइसेन्स) वितरण हुने भएको छ । शनिबार डडेल्धुरा र डोटीमा सवारीचालक अनुमतिपत्रको लागि प्रयोगात्मक परीक्षा (ट्रायल) स्थलको उद्घाटन गरिएको छ ।
यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिबार ट्रायल स्थल उद्घाटन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुवै जिल्लाका ट्रायल स्थलको उद्घाटन गरेका हुन् ।
ट्रायल स्थल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले नेपालमा सबैभन्दा बढी सवारी दुर्घटनाबाट नागरिकले ज्यान गुमाइरहेको बताउँदै भने– ‘लाइसेन्स प्राप्त गर्नु मात्रै ठुलो कुरा होइन । सवारी चालकले सुरक्षित भएर सवारी साधन चलाउन आवश्यक छ ।’
प्रदेश सरकार आएपछि थुप्रै सेवा विस्तार भएर नागरिकलाई सहज हुँदै गएको भन्दै सोहीअनुसार डडेल्धुरा र डोटीबाट लाइसेन्स जारी गर्ने कार्यको पनि शुरुवात गरिएको उनले बताए । साथै यो कार्यसँगै पहाडी जिल्लामा एक प्रकारको नयाँ गतिविधि अगाडि बढेको तर्क उनले गरे ।
यसैगरी प्रदेश सरकारले जनतालाई चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन र कर तिर्न सहज होस् भन्ने उद्देश्यले सरकार गठनपश्चात सबैभन्दा पहिला पहाडी दुई जिल्ला डडेल्धुरा र डोटीबाट लाइसेन्स वितरण गर्ने योजना ल्याएको उनले जानकारी दिए । विगतमै सीमित नरहेर सबै सुविधाहरू नयाँ तवरले दिनुपर्नेमा उनको जोड छ ।

यातायात व्यवस्था कार्यालय डडेल्धुराको आफ्नै ट्रायल सेन्टर नभएको भन्दै स्थानीय सरकार तथा राजनितिक दलहरुले पनि यसमा पहल गरी उपयुक्त ठाउँको व्यवस्थापन गर्न सुझाव उनले दिए । साथै प्रदेश सरकारले छिट्टै आफ्नै जग्गामा कार्यालय तथा ट्रायल सेन्टर अगाडी बढाउने कार्य योजना समेत बनाएको उनले बताए ।
यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको थियो । यातायात डडेल्धुराका कार्यालय प्रमुख मेखराज उपाध्यायका अनुसार जिल्लामा कार र जीपका लागि ४३ जनाले लिखित परीक्षा दिएकोमा २७ जना उत्तीर्ण भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि ११७ जनाले लिखित परीक्षा दिएकोमा १०६ जना उत्तीर्ण भएका छन् ।
डडेल्धुरामा बिगत पाँच वर्ष देखि संचालनमा रहेको उग्रतारा ड्राइभिङ सेन्टरलाई यातायात व्यवस्था कार्यालय डडेल्धुराले प्रयोगात्मक परीक्षाका लागि ३४३ जनाको आवेदन परेको र उदटन समारोहमा लिइएको १३ जनामध्ये सबै उत्तीर्ण पनि भएको कार्यालय प्रमुख मेखराज उपाध्यायले बताए ।
उद्घाटन समारोहमा पहिलो पटक मोटरसाइकल, स्कुटर, जिप तथा कार समुहका आवेदकको ट्रायल गरिएको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटी नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेको हो । त्यसअघि ०७२ साल असार ३ गते सुदूरपश्चिमका पहाडी जिल्लाका सेवाग्राहीका लागि तत्कालिन अञ्चल यातायात व्यवस्था कार्यालय मातहत रहने गरी यातायात सेवा कार्यालय डडेल्धुरा र डोटी स्थापना भएको थियो । उक्त कार्यालयहरुले डडेल्धुरा र डोटी भन्दा अगाडि रुट दिने गरी पट्के काम गर्दै आएका थिए ।
प्रतिक्रिया