तीज : परम्परादेखि ‘डगी डान्स’सम्म

तीज : परम्परादेखि ‘डगी डान्स’सम्म


  • रेजिना गौतम

पछिल्लो समय झापा जिल्ला प्रशासनले तीजमा तडकभडक नगर्न सूचना जारी गर्‍यो, यो आफैंमा स्वागतयोग्य छ । कानूनी राज्यको कुरा गरिरहँदा संस्कृतिका नाममा समाजमा अमिल्दा, असुहाउँदा, अशोभनीय, उद्दण्डता निम्त्याउने प्रकृतिका कुनै पनि गतिविधि हुनुहुँदैन । कता-कता देखिएका त्यस्ता दृश्यलाई नियन्त्रण गर्न पनि महिला तयार हुनुपर्छ । उद्दण्डताले समाजलाई सही मार्गतर्फ डोहोर्‍याउन सक्दैन । सत्मार्ग देखाउन र संस्कार सिकाउन सक्दैन । संस्कृति संरक्षण गर्न र सम्मान तथा आदरभाव दर्शाउन सक्दैन भने त्यो विकृति हो । समाजलाई फाइदा नपुग्ने खालका कार्यको नियन्त्रण गर्नु राज्यको दायित्व हो । यसर्थ यहाँ प्रशासनले जारी गरेको सूचनाको स्वागत गरिएको हो ।

उद्दण्डता र उछृङ्खलता संस्कृतिभित्र पर्दैनन् । संस्कृतिका नाममा ती विकृति हुन् । कोरोना संक्रमणका कारण तीन वर्षसम्म हिन्दु नेपाली महिलाहरूले सामुहिक तीज मनाउन पाएनन् । त्यसपछि २०७९ को तीज मनाउने क्रममा केही त्यस्ता उद्दण्डतापूर्ण दृश्यहरू देखिएका छन्, जुन नियन्त्रण गर्न जरुरी छ । आज तीनै दृश्यका कारण सारा नारीले महिला त्यस्ता र उस्ता भन्ने अभियोग खेप्नु परेको छ । झापामै त्यस खालका दृश्य नदेखिए पनि स्थानीय प्रशासनले सचेत गराएको पनि हुन सक्छ ।

एकैछिन पछाडि फर्कौं
‘हाँस्नु हुन्न कदापि नारीजनले बेस्या हुन्याँ हाँस्तछन्
बेस्या लौ नहुन्याँ तथापी घरको काम ती सबै नास्तछन् ।’

यो श्लोकका बारेमा अथ्र्याइरहनु पर्छ भन्ने लाग्दैन । त्यो बेला समाजले नारीलाई हेर्ने दृष्टिकोण कस्तो थियो ? भन्ने कुरालाई आदिकवि भानुभक्तले टपक्क टिपेर लिपीवद्ध गरे । यही लयवद्ध लिपीका आधारमा आज र आजपर्यन्त पनि महिलालाई हेर्ने दृष्टिकोण कस्तो थियो ? भन्ने बुझ्ने आधार जीवित रहने छ । समय र समाज बोल्ने भानुलाई कतिपयले नारी विरोधी भनेर पनि चित्रित गरे । तर, यहाँ भानु आफैं नारी विरोधी होइनन्, जसले नारी विरोधी भन्यो तिनीहरूको नकारात्मक सोचाईको उपज हो । नारीले हाँसे बेस्या हुन्छन्, बेस्या नै नभए पनि तिनीहरूले घरको काम बिगार्छन् भन्ने समाज भोगेर आएका हामी नारीहरूलाई अहिले पनि सामुहिक रुपमा हाँस्न बोल्न, रमाउन रोक लगाउन प्रशासनलाई बल पुर्‍याउने यही समाज हो । समाजको आवाजले कानुनी मान्यता पाएपछि त्यसका विरुद्ध आवाज उठाउनु कानून विपरित हुन्छ, तसर्थ यहाँ कारवाहीको भागीदार नभइएलाकी भन्न सकिन्न ।

७ वर्षकी बालिकालाई २२ वर्षको मर्दसँग बिहे गरिदिने पनि यही समाज हो । ‘बाइसै वर्षका हरिमल्ल राजा, पाँचै र वर्षकी विमल्नी रानी यी दुईको विहे भो…’ तत्कालीन समाजको ऐना यो संगिनीले उदृत गर्छ । अनि त्यही मर्दको आधा उमेरमै निधन भएपनि किशोरावस्था होस् वा बयस्क । जे भएपनि सन्तानलाई छोडेर मृत पतिका साथ लागेर नौमती बाजा बजाउँदै सतीका नाममा आगोको लप्कासँग जिउँदै जलाउने पनि यही समाज हो । त्यतिमात्र होइन बुहारीलाई खरानीको ढिडो र छोरालाई चामलको भात दिने पनि यही समाजभित्रका केही प्रतिनिधि चरित्र हुन् ।

त्यसो त महिलालाई हाँस्न रोक लगाउने र कथंकदाचित हाँसेमा बेस्याको उपमा भिराउने यही समाज हो जसले– एउटा पुरुषले जतिसुकै महिलासँग सहवास गरेपनि मर्दको संज्ञा दिन्छ । आजपनि कता कता यो सुनिन्छ । यद्यपी कानुनी बाध्यताका कारण भोग्य जतिसुकै भएपनि देख्य रुपमा एउटा घरजम बसालेको पाइन्छ । कानूनले पुरुषलाई खुम्च्याएर महिलालाई अधिकार दिलाएको यो उपलब्धी चानचुने होइन ।

एउटा कालखण्ड थियो बुहारीहरू वर्षदिनको तीज र दशैंबाहेक अन्य समयमा माइत जान पाउँदैनथे । तीज, बिहे, ब्रतबन्ध, पुराण (समग्रमा कुनै विशेष अवसर) बाहेक माइत जान तीज नै पर्खनुपर्ने बाध्यता थियो विवाहित महिलालाई । अहिलेको जस्तो छिनछिनमा प्रविधिको प्रयोग गरेर कुरा गर्ने विषय त कल्पनासम्म गर्न सकिंदैनथ्यो । यस्तो सामाजिक परिवेशमा तीजको अवसर पारेर दिदीबहिनीलाई दाजुभाई लिन जाने र भेला भएका छोरीचेली, दिदीबहिनीलाई दुग्धजन्य (हविष्य भोजन) परिकार बनाएर खुवाउने चलन नेपाली समाजको हो ।

बद्लिँदो परिवेश र समाजसँगै महिलाहरू पनि क्रमिक रूपमा जागरुक हुन थाले । समाज र व्यवस्था परिवर्तनमा सहभागी हुन थाले । महिला अधिकारका विषयमा कुरा उठाउन थाले । बाँच्न पाउने अधिकारका विषयमा कुरा उठ्नु मात्रै होइन विद्रोह हुन थाल्यो । महिलामा पनि सचेतना बढ्दै गयो । श्रीमानको भरमा मात्र निर्भर हुने महिलाहरू आत्मनिर्भरताको बाटो खोज्न थाले । घर, परिवार, श्रीमान्, सासु-ससुरा, छोराछोरीको व्यवस्थापन गरेर आफू पनि केही गर्नुपर्छ भन्ने भावना भएकाहरू त्यहीअनुरुप अघि बढे । उनीहरूको सिको गर्दै-गर्दै अरु महिला पनि हातेमालो गर्न पुगे । आत्मनिर्भरताको बाटो खोज्दाखोज्दै उनीहरू सँगठित हुने र त्यस्ता संघ, संस्था र संगठनहरूको नेतृत्व गर्न थाले । संक्षिप्तमा महिलाको विकासक्रम यसरी नै अघि बढेको पाइन्छ ।

तीनै संघ संस्थाको नेतृत्व गर्ने महिलाहरू अहिले घर, परिवारलाई व्यवस्थापन गरेर आफू २/४ सय आम्दानी गर्न सक्ने मात्र भएका छैनन् कुनै पनि ठाउँमा महिला छैन भने यो के हो ? भनेर ठाडो आवाज उठाउन सक्ने भएका छन् । महिला सशक्तिकरणको यो एउटा महत्वपूर्ण उपलब्धि हो ।

हिजोका यी यथार्थ विषयवस्तु लेखिरहँदा पुरुष विरोधी भनेर आरोप लाग्न सक्ला । त्यतिमात्र होइन यहाँ त प्रशासनिक डण्डापनि नलाग्ला भन्न सकिन्न । तर, संवैधानिक वाक स्वतन्त्रताले दिएको हक प्रयोग गर्नु सचेत नागरिकको कर्तब्य नै हो ।

पूर्व प्रमको २ लाख घोषणा

तीजको दर खाने दिन आउन १० दिन बाँकी रहँदा झापाको गौरादहको एक कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलालाई तीज मनाउन २ लाख रुपैयाँ दिने घोषणा गरे । उनी आफूले घोषणा मात्र गरेनन् सँगै बसेका जिल्ला अध्यक्ष दिपक कार्कीलाई पनि ५० हजार दिन प्रस्ताव गरे । केन्द्रीय अध्यक्षको प्रस्तावलाई जिल्ला अध्यक्षले स्विकार गरेसँगै उनले भने तपाईहरूलाई तीज मनाउनका लागि २ लाख ५० हजार भयो । यसले पुगेन भने म बिचार गरौँला । ओली त्यतिमै रोकिएनन् उनले अगाडि भने-‘मंसीर ४ गते एमालेलाई निर्णायक ठाउँमा पुर्‍र्याउनुपर्नेछ, समृद्ध नेपाल, सुखी नेपाली, लोकतन्त्रको रक्षा र राष्ट्रियताका लागि एमालेले सरकारको नेतृत्व लिनुपर्छ त्यहाँ पुर्‍याउने जिम्मेवारी तपाईहरूको हो ।’ निर्वाचन नजिकिंदै जाँदा एउटा राजनीतिक दलको शीर्ष नेताले पार्टीलाई सरकारमा पुर्‍याउनु पर्छ भन्नु ठूलो कुरा होइन् । तर, दर खुवाएर ‘नूनको सोझो गर’ भन्नु प्रलोभन हो कि होइन ?

नीति बनाउने नेताहरू स्वयं स्वार्थ राखेर सहयोग घोषणा गर्छन् । अनि प्रशासन सर्वसाधारण महिलालाई सामाजिक व्यवहारको नियम देखाएर तर्साउँछ । एउटै पालिका वा क्षेत्रका महिलाले २ लाख ५० हजार खर्च गर्दा तीज भड्किलो हुन्छ कि हुँदैन ? कि यो विषयमा प्रशासन बेखबर छ ? अनि आफ्नो सम्पूर्ण सम्पत्ति राज्यलाई सुम्पिएको घोषणा गर्ने अध्यक्ष ओलीले त्यत्रो रकम कसरी दिन्छन् ? आफूलाई उपचार गर्ने पैसा नै छैन भन्ने अभिब्यक्ति दिएको केही दिनमै आएको यो घोषणाको स्रोत चाहिं के हो ? शायद यी प्रश्न अनुत्तरित हुन सक्छन् ?

नेताहरूले कार्यकर्ता खुशी पार्नका लागि ओलीले जुन घोषणा गरे त्यो प्रतिनिधि घटना मात्र हो । स्वार्थमा कुद्ने धेरै नेताहरूले त्यसरी नै रकम खर्चेर दर खुवाएका होलान् । तथापि अहिलेसम्म जानकारीमा आएको थिएन, छैन ।

प्रसङ्ग तीजको :

सन् २००४ देखि वीरता लेडी जेसीजले निरन्तर तीजमिलन कार्यक्रम मनाउँदै आएको छ । शुरु/शुरुका वर्षहरूमा जेसीजको तीज निकै भड्किलो देखिन्थ्यो । लवज र आभूषणका कारण एउटा संभ्रान्त परिवार मात्रै सहभागी हुन सक्थ्यो । खिसीट्युरी नगरे पनि देख्नेहरू आफैं हतोत्साही हुन्थे । यसरी तीज मनाउने जेसीजले तडक-भडकलाई नियन्त्रण गर्‍यो र सबै सुहाउँदो बनायो । तर, अझै पनि जेसीज, इनरह्वील, लायन्सका तीजहरूलाई हेर्ने दृष्टिकोणमा पूर्ण परिवर्तन आइसकेको छैन । विगत केही वर्षयता जेसीजले सामान्य तरिकाले तीज मनाउन थालेको छ । सामान्य प्रकृतिको ड्रेस बनाएर गरगहनाको प्रयोग घटाएको छ–यसले सबैलाई सहभागी हुन प्रोत्साहित पनि गरेको छ यो सकारात्मक पक्ष हो ।

यी विभिन्न संस्थाहरूले आभूषण, लवजजस्ता भड्किला देखावटीपनलाई नियन्त्रण गर्नुका साथै सामाजिक सेवाका क्षेत्रलाई जोड्दै आएका छन् । देख्नेहरूले यी र यस्ता तीजहरूलाई पनि तडक–भडक नै देखे । आफू–आफूले स–सानो रकम जम्मा गरे र साथीसँगीबीच रमाएको तीज भड्किलो बनिदियो समाजका लागि ।

अधिकतम् सहकारी, पालिकाले तीज मिलन कार्यक्रम गरेर महिलाहरू छमछमी नाच्छन्/नचाउँछन् । विगतका वर्षहरूमा निजामति कर्मचारी संघ-संगठनमा आवद्ध महिलाहरूले सामुहिक तीज मनाएका नजिर स्थापित छन् ।

सिक्काका दुई पाटा भनेझैं कुनै पनि कुराका दुई पक्ष अवस्य हुन्छन् । सकारात्मक र नकारात्मक । ती पाटालाई हाम्रा विवेकले कसरी ग्रहण गर्छन् र धारणा बनाइन्छन् भन्ने कुरा महत्वपूर्ण हो । तर, प्रशासनकै कुरामा भने त्यो लागू नहुन सक्छ ।

तीज एउटा सन्दर्भ मात्र हो नाच्ने र गाउने । सानो खुशीमा पनि दिल खोलेर रमाउने अधिकतम महिलाहरू घर–व्यवहार, छोराछोरी स्याहार्छन् र समय बचाएर आफैं उद्यम, व्यापार, व्यवसाय गर्छन् । दुई/चार पैसा आफैं कमाउँछन् । खर्च गर्नका लागि आशामुखी बन्नुपर्ने अवस्थाबाट माथि उठेका महिलाहरू अघिपछि जतिसुकै व्यस्त भएपनि तीजमा एकैछिन् समय निकालेर नाच्न भेला हुनुलाई सामाजिक व्यवहार आचार खल्बलिएको अथ्र्याइन्छ भने पुराण, विवाह, ब्रतबन्धलगायतका संस्कृतिमा चाहिं सामाजिक ब्यवहार ऐन लाग्छ कि लाग्दैन ?

एउटा पुरुष दैनिक भट्टीमा जान्छ र हजारौँ रकम खर्चिन्छ, भए आफू खर्च गर्छ, नभए साथीभाई सापटी, त्यो पनि नभए ब्यापार व्यवसायमा लगानी गर्न भन्दै बैंकमा धितो, त्यो पनि नभए श्रीमतीको गरगहनासम्म खर्चने पुरुषहरू पनि यहाँ नभएका होइनन् । उनीहरूको यो आचारबारे कानून प्रभावित हुन्छ कि हुँदैन ? यसतर्फ नियामक निकायको ध्यान पुगेको छ ? तीजकै सन्दर्भमा त आयोजकका आ-आफ्नै बाध्यता सुनिन्छन् । हिन्दु नारीहरूको तीज, परम्परादेखि चलिआएको महान पर्व । पूर्व अध्यक्षहरूले निरन्तरता दिंदै आएको एउटा आत्मीयता साटासाटको अवसरलाई नमानुँ कार्यकालभर आरोप खेप्नुपर्ने, आयोजना गरौं न त भन्दा रातो साडी लगाएर, सामुहिक रुपमा नाच्ने वित्तिकै तडक-भडक हुने ।

यसो भनिरहँदा गलत नियत राखेर, होटलमा गएर, मदिरामा लठ्ठिएर कसैले तीज मनाएको छ भने त्यो अराजकता हो । संस्कृतिका नाममा विकृति हो । अमर्यादा र असिष्टता हो । तीज मनाउने हाम्रो संस्कार भनेको दिदी-बहिनी घरैमा भेला हुने र औकात अनुसारको मिष्ठान्न परिकार बनाएर खाने नै हो । तर, सामुहिक रुपमा तीज मनाउँन घरमा असंभव नै छ । यस्तो अवस्थामा होटलमा पनि तीजका परिकार बनाएर खाने र रातो साडी लगाएर नाचेकै भरमा तीजलाई भड्किलो भन्नु गलत हुन्छ ।

‘डगी डान्स’

२०७९ को तीज पनि महिलाका लागि आलोचनामुक्त हुन सकेन । सामुहिक तीज मनाउने क्रम शुरु भएसँगै स्वयम् सेविका र कलाकार एलिजा गौतमको एउटा नृत्यबाट आलोचना शुरु भएको हो । यो नृत्य आलोचना गर्नुपर्ने थियो कि थिएन सोचनिय कुरा हो । त्यही नृत्य सामाजिक सञ्जालमा ‘डगी डान्स’को उपमा पाएको छ । जुन डान्स समाज सुहाउँदो छैन, समाजले त्यसलाई अस्लिलता भन्दै आलोचना गरिरहेको छ । त्यसपछि अर्को आलोचनाको दृश्य आयो होटलमा रक्सी, ह्वीस्की र वियरका बोतलहरू राखेर तीजका नाममा रमाइरहेको । वास्तवमा यी दृश्यहरू संस्कृतिका नाममा विकृति हुन् । यसो भनिरहँदा मनोरञ्जन गर्न पाउने व्यक्तिगत स्वतन्त्रता हो भन्ने पनि छ ।

तर, हामी सामाजिक प्राणी हौँ । हामी आमा, हजुरआमा अनि छोरी र बुहारी पनि हौँ । हाम्रो सामाजिक संस्कार छ । जुन संस्कारले उक्त नृत्य र दृश्यलाई पचाउन सक्दैन । शायद त्यस्तो परिवेशमा तीज मनाउने एकसय महिला थिए वा थिएनन् । तर, त्यसको आरोप डेढ करोडबढी महिलाले खेप्नु परिरहेको छ । यस्तो दृश्य जिल्लामा नदेखियोस् भनेर पनि प्रशासनले सूचना जारी गरेरै सचेत गराएको हुन सक्छ । संस्कृति संरक्षणको ठूलो जिम्मेवारी पाएकाहरूले संस्कृतिको संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु जरुरी छ । पर्वका नाममा विकृति प्रदर्शन गरेर अरुलाई औला उठाउने अवसर नदिनु नै बुद्धिमता ठहर्छ ।

किन मनाउने सामुहिक तीज ?

जतिबेला घाँस, दाउरा, मेलापात, चुलो चौकोको चौघेरामै महिला सिमित थिए त्यो बेला माइतीबाट लिन नआएसम्म उनीहरूमा खुशी आउदैनथ्यो । खेतीपातीको काम सकिएपछि दाजु या भाइ कहिले लिन आउँछन् ? भनेर बाटो कुरेर बस्थे चेलीहरू । माइतीहरू पनि चेली लिन जाँदा घरबाट पठाउलान् कि नपठाउलान् भन्दै भन्दै दोधारमै लामो बाटो धाएर उनीहरूका घर पुग्थे । कारणबस कसैका माइती लिन पुगेनन् भने-

तीज आयो भनेर सबै जान्छन् माइत,
आफ्नो माइती मुग्लान पारी छैन साइत ।।

यस्तै गीत गाउँदै रुँदै रुँदै बिताउँथे । अहिले मुग्लान पारी माइत भएपनि प्रविधिले सहज गराइदिएको छ । छिन-छिनमा मुहार हेरेर बोल्न पाइन्छ । महिलाहरू आफैं आफ्ना खुट्टामा उभिएका छन् । खुट्टामा उभिन नसक्नेहरूका पनि श्रीमान बुझ्ने भएका छन् । आमा र दिदीबहिनी सँगसँगै आफ्नै जीवनसाथीको पनि बढी विश्वास गर्न थालेका छन् । नन्द आमाजु र सासुको पनि व्यवहार फेरिएको छ । धेरै घरमा छोरी र बुहारीमाथि गर्ने विभेद अन्त्य भएको छ । त्यसकारण पनि चेलीहरू खुशी छन् । माइत जान नपाएपनि आफ्नै सहकर्मीहरूसँग रमाउने र आफ्नो जिम्मेवारी पूरा गर्न थालेका छन् । यसलाई भड्किलो रुपमा हेरिनुहुन्न ।

बद्लिंदो परिवेशसँगै हाम्रा दैनिकहरू फेरिएका छन् । चुलो र चौकोको चौघेराबाट महिलाहरू निकै फड्को मारिसकेका छन् । सहकारी, कर्मचारी, राजनीति, स्वास्थ्य शिक्षा लगायत क्षेत्रमा बढेको सहभागितासँगै स्वावलम्बी बन्न थालेका छन्, काम तथा अध्ययनका शिलशिलामा विदेशसम्म पुगेर परिवारलाई राम्रै भरथेग पनि गरिरहेकै छन् । यसरी घरबाट टाढा भएका महिलाहरू तीजको एकदिने बिदामा न त माइत पुग्न सक्छन्, न त माइती लिन आउन नै सक्छन् । यो जिम्मेवारी बोधप्रतिको प्रतिवद्धता पनि हो । शहरको बसाई एउटा कोठामा हुनाले चाड मनाउन कठिन हुन्छ । रहर छ तर ठाउँ छैन । यो अवस्थामा बसेकाहरूका लागि पनि सामुहिक तीजप्रतिको मोह बढेको हुन सक्छ ।

संस्कृति धान्ने जिम्मा महिलाकै

परम्परा र संस्कृति जगेर्नामा पुरुषको भन्दा महिलाकै भूमिका महत्वपूर्ण हुन्छ । घरमा आउने पाहुनाको व्यवस्थापनदेखि, तीज, दशैं, तिहार, संक्रान्ति, औँसी, पूर्णिमा, श्राद्ध, तीर्थब्रतमा महिलाकै सहभागिता र लगाव बढी पाइन्छ । सँगसँगै भान्सामा पाक्ने भोजनदेखि मौलिक पक्वानहरूमा एकाधबाहेक महिलाले जति अरुले पकाउँदैनन् । तीजको मौलिकता जगेर्नाको मुख्य भागिदार पनि महिला नै हुन् । तसर्थ हाम्रा संस्कृति परम्परा, मौलिकताको संरक्षणमा समेत महिला सजग हुनैपर्छ ।