आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिटबाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरु ‘सकस’मा परेका छन् ।
गठबन्धन सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेलगत्तै गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको थियो भने उनीहरुले तालमेलको मोडालिटी बनाउनका लागि कार्यदल नै बनाएका छन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले विभिन्न मोडालिटी तयार गरी विभिन्न चरणमा छलफल गरेको भए पनि सिट बाँडफाँटलाई टुंगोमा पुर्याउन सकेको छैन । चाँडै सिट बाँडफाँट टुंगोमा पुर्याएर चुनावमा होमिनुपर्ने भए पनि कुरा मिल्न नसक्दा सत्ता गठबन्धन सकसमा परेको छ ।
बिहीबार बिहानदेखि राति १० बजेसम्म शीर्ष दलका नेताहरुले प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरे पनि सहमति जुट्न सकेन ।
नेपाली कांग्रेसले १०० सिटलाई बटमलाइन बनाएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको आ-आफ्नो दाबी सिट संख्यामा हुँदा कुरा मिल्न सकेको छैन ।
वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा प्राप्त मत र क्षत्रगत रुपमा दलको प्रभाव हेरेर सिट बाँडफाँट गर्नुपर्ने र कांग्रेले धेरै छाड्दा गठबन्धनलाई घाटा हुने तर्क कांग्रेसको रहेको छ ।
बिहीबार दिनभर बसेको गठबन्धनको बैठकले दुई दिनभित्रमा सिट बाँडफाँट सक्ने सहमति भने जुटाएको छ । बैठकले आगामी दुई दिनभित्र न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने सहमति जुटाएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने र निर्वाचन जित्ने भन्दा देशलाई मिलेर अघि बढाउने विषयमा छलफल भएको उनको दाबी छ । यसमा सबै दल सहमत रहेकाले दुई दिनमा टुंगोमा पुग्ने उनको दाबी छ ।
उनका अनुसार गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने र यसका लागि सबैलाई न्यायपूर्ण रुपमा सिट दिने गरी छलफल भएको छ । तर, उनले भनेजस्तो सहज अवस्था भने गठबन्धनमा देखिएको छैन ।
दुई दिनको समयमा दलहरुले आन्तरिक छलफल गरेर टुंगोमा पुग्ने नेताहरुको दाबी छ । तर कांग्रेसका एक नेताले दुई दिनभित्र टुंगो लाग्ने सम्भावना न्यून रहेको बताए । ुकांग्रेसको अवस्था अन्य दलको भन्दा निकै बलियो छ । यस हिसाबले कांग्रेसले धेरै छाडेर अरुलाई धेरै दिन सक्ने कुरा हुँदैन । फाइदा नहुने भए अरुले पनि किन गठबन्धन गर्ने भन्ने होलान्, तसर्थ स्थानीय चुनावजस्तै अन्तिम तिर टुंगो लाग्ने होलाु, उनको अनुमान छ ।
प्रतिक्रिया