अष्ट्रेलिया र नेपालको सम्बन्ध सधैं बलियो, नगद कारोबारलाई हटाउँदै दूतावास : राजदूत पोखरेल

अष्ट्रेलिया र नेपालको सम्बन्ध सधैं बलियो, नगद कारोबारलाई हटाउँदै दूतावास : राजदूत पोखरेल


  • राजन घिमिरे, अष्ट्रेलिया

अन्ततः लामो समयपछि अष्ट्रेलियाका लागि नेपाली राजदूतको रूपमा कैलाशराज पोखरेलले जिम्मेवारी सम्हाल्नुभएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत रिक्त हुँदा अष्ट्रेलियावासी नेपालीहरूले भोग्नु परेको समस्या र कार्य–ब्यवधानको समाधानसँगै नयाँ राजदूतको रूपमा पोखरेलको नियुक्तिपछि यहाँ रहनुहुने प्रवासी नेपालीजनमा पनि उत्साह छाएको छ ।

करिब एक महिनाअगाडि राजदूत नियुक्त भएर अष्ट्रेलिया आउनुभएका पोखरेल निकै संवेदनशील र सुझबुझका साथ अगाडि बढ्ने योजनामा रहनुभएको अनुभूति गरिएको छ । अष्ट्रेलियाबाट सञ्चालित एसबिएस नेपाली रेडियोसँगको कुराकानीमा उहाँले आगामी दिनमा नेपालीहरूको बसोबास रहने अस्ट्रेलियाका शहरहरूको भ्रमण गर्ने योजना रहेको बताउनुभएको छ । एसबिएस नेपाली रेडियोसँगको कुराकानीमा राजदूत पोखरेलले उच्चस्तरीय भ्रमणसँगै सेवा पनि लैजाने र नेपाल फेस्टिबल जस्ता पर्यटन प्रवर्द्धनका लागि राखिएका कार्यक्रममा जाने योजना रहेको बताउनुभयो ।

रुम्जाटार (ओखलढुङ्गा)का पोखरेलले नेपाल सरकारको सेवामा विभिन्न ओहदामा रही ३८ वर्ष काम गरिसक्नु भएको छ भने २७ वर्ष त अर्थ मन्त्रालयमा रहेर अन्तर्राष्ट्रिय मामिला, वैदेशिक सहायता, व्यापारलगायतका क्षेत्रमा अनुभव सँगालिसक्नु भएको छ ।

विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ र अमेरिकास्थित नेपाली दूतावासमा काम गरिसक्नु भएका राजदूत पोखरेलले नेपाल सरकारको वैदेशिक नीतिअन्तर्गत अस्ट्रेलियासँगको सम्बन्धलाई प्रगाढ बनाउन आफूले कोसिस गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

६० वर्षदेखिको नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धमा कहिले पनि चिसोपन नआएको उल्लेख गर्दै राजदूत पोखरेलले अगाडि भन्नुभयो– ‘दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण छ, यसलाई अझ उचाइमा पु¥याउन कोशिस हुनेछ ।’

यसबाहेक नेपाली समाज बढ्दै गएको अवस्थामा कृषि, प्रविधि, आइटी, पर्यटन, लगानी र व्यापारलाई बढाउने जस्ता कुरामा सुधार गर्दै लाने विषय आफ्नो प्राथमिकतामा पर्ने उहाँ बताउनुहुन्छ ।

राजदूत पोखरेलले आफूले कार्यभार सम्हालेसँगै विद्यार्थीहरूका विभिन्न समस्याका बारेमा जानकारी पाएको पनि जानकारी दिनुभयो । ‘विशेष गरेर वित्तीय व्यवस्थापन नगरिकन आएका विद्यार्थीहरू समस्यामा परेको भन्ने सुनेको छु– ‘उहांले अगाडि भन्नुभएको छ– ‘विद्यार्थीहरूमा मानसिक एवम् आर्थिक समस्या बढी देखिएको प्रति म जानकार छु अभिभावकले समेत बुझेर मात्र पठाउनुभयो भने सजिलो हुन्छ, यसका बारेमा जनचेतना फैलाउन सहकार्य गर्छौं ।’ राजदूत पोखरेलले अष्ट्रेलियामा रहेका विभिन्न सङ्घ–संस्थासँग मिलेर विद्यार्थीहरुका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कुराकीनीको क्रममा ई–पासपोर्ट बनाउन दूतावास नै जानुपर्ने बाध्यताको समाधानका लागि मोबाइल पासपोर्ट मेसिन लगेर सेवा दिने योजना रहेको राजदूत कैलाशराज पोखरेलले पुष्टि गर्नुभएको छ । राजदूत पोखरेलले अगाडि भन्नुभयो– ‘ई–पासपोर्ट बनाउन, बायोमेट्रिक गर्नुपर्ने भएकाले हाल दूतावासमै जानुपर्ने बाध्यता छ, यसको समाधानका लागि मोबाइल डिभाइस मार्फत विभिन्न राज्यहरूमा पुग्ने योजनामा हामी छौँ, सुरुमा पर्थ जस्ता टाढाका स्थानमा जाने र दुईचार दिन बसेर, त्यो सेवा दिन सकियो भने यसका कारण अष्ट्रेलियाको राजधानी क्यानबेरासम्म ट्राभल गर्ने बाध्यतालाई यसले मुक्ति दिन्छ ।

यसैबीच राजदूत पोखरेलले दूतावासले चाँडै नै नगद कारोबारलाई हटाएर क्यासलेस पेपेन्ट (अनलाइन पेपेन्ट) शुरू गर्न लागेको जानकारी पनि दिनुभएको छ । लामो समयदेखि नगद कारोबार मात्र हुँदै आएको दुतावासले अब गर्ने क्यासलेस कारोबारले सेवाग्राहीलाई धेरै राहत प्राप्त हुने देखिएको छ । धेरै पहिलादेखि नेपाली समाजले आवाज उठाउँदै आएको यो कार्यले अब भने मूर्तरूप पाउने भएको छ ।