शहरी विकासमन्त्री मेटमणि चौधरीले थारुहरुले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने बताएका छन् ।
राजधानीमा शनिबार आयोजित एसईईमा उत्कृष्ट अंक ल्याउन सफल थारु विद्यार्थीहरुको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।
‘हामीले जहिले दुःखका कुरा गऱ्यौँ । अभावका कुरा गऱ्यौँ । जाँड खाएर आफु बिग्रिएका कुरा गऱ्यौँ । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के जाँड अरुले खाँदैनन् ?’ मन्त्री चौधरीले भने, ‘मुख्य कुरा कमिटमेन्ट हो । आँट हो । हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’
देश बदल्ने हरेक आन्दोलनमा झापादेखि कन्चनपुरसम्मका थारुहरुले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्नेबेला आएको उनले बताए ।
‘२०४६ साल पछाडि राजनीति बदलिएको छ । थारु जाती अब भोट बैंक मात्र बन्ने होइन । प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनीतिमा आउन गाह्रो छ । सानो पदमा रहदा सबैले माया गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । तर पनि देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउँने अभियानमा थारु जाती थप सक्रिय हुनैपर्छ,’ मन्त्री चौधरीले भने ।
०६२/६३ मा मुलुक बिखण्डन गर्ने अभियानका विरुद्ध थारु समुदायले प्रतिरोध गरेको जनाउँदै उनले अबको १० वर्षभित्र मुलुकले थारु समुदायबाटै प्रधानमन्त्री पाउने दाबी समेत गरे । हिम्मत र संघर्षबाटै अब्रहाम लिङ्कन, अरुणिमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उनले बहिस्कृत मान्छेहरु नै अगाडि बढ्नुपर्ने जनाए ।
थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा थारु आयोगकी सदस्य शान्ति मोदी, सुरुंगा नगरपालिकाकी मेयर गीता चौधरी, नेपाल आदिवासी विद्यार्थी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश लोप्चन तामाङ, थारु कल्याणकारिणी सभा काठमाडौं उपत्यकाका सभापति सुमन चौधरीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा एसईईमा विशिष्ट श्रेणी ल्याउने थारु समुदायका करिब दुई दर्जन विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण थारु विद्यार्थी समाजका सचिव रोशन रत्गैँयाले गरेका थिए ।
प्रतिक्रिया