आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्तागठबन्धनका दलहरूबीच सीट बाँडफाँडमा सहमति जुटिसकेको छैन । सहमति हुन नदिने प्रमुख पात्र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल देखिएका छन् । नेता नेपालले नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले ठुलो भाग खोज्दा गठबन्धनकै गाँठो फुस्किन लागेको असन्तुष्टि पोख्न थालेका छन् ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमतिको नजिक पुगेका छन् । तर, माधव नेपाल भने देउवा र प्रचण्डको शैलीप्रति रुष्ट बनेका छन् । गठबन्धन दलहरूको बैठकमा नेपालले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३० सीटको दाबी गरेका छन् । देउवा र प्रचण्ड भने माधव नेपाललाई यो सीट सङ्ख्या दिन तयार छैनन् । गठबन्धन स्रोतका अनुसार एकीकृत समाजवादीले स्थानीय चुनावमा निकै थोरै मत ल्याएकोले माधव नेपालको मागबमोजिम सीट दिन नसक्ने निष्कर्षमा देउवा र प्रचण्ड पुगेका छन् । दिनहुँजसो हुने गठबन्धनको बैठकमा नेपालले राखेको मागकै कारण सहमतिमा अड्चन पैदा भएको काङ्ग्रेस र माओवादीका नेताहरूले बताएका छन् ।
देउवा र प्रचण्डले गरेको सहमतिलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने चुपचाप समर्थन जनाउँदै आएका छन् । सत्ता गठबन्धनभित्रका दलहरूबीच सीटको भागबण्डामा आफूहरूलाई पेल्ने रणनीति देखिएको माधव नेपालले आफ्ना निकट नेताहरूसँग व्यक्त गर्दै आएका छन् । नेपालले यस विषयमा विभिन्न कार्यक्रममा सहभागी हुँदासमेत सीट बाँडफाँड पेचिलो बनेको बताएर गठबन्धनभित्रको असन्तुष्टि बाहिर ल्याएका छन् । तर, देउवा-प्रचण्ड भने नेपालको पार्टीका एकीकृत समाजवादीलाई १८ सीट भन्दा बढी दिन तयार छैनन् ।
प्राप्त जानकारीअनुसार देउवा-प्रचण्डबीचको सहमतिबाट यस्तो हुँदैछ सीटको बाँडफाँड :
नेपाली काङ्ग्रेस– ८६
माओवादी केन्द्र– ४७
एकीकृत समाजवादी– १८
जनता समाजवादी– १३
राष्ट्रिय जनमोर्चा– १
प्रतिक्रिया