छटपटिए उपेन्द्र !

छटपटिए उपेन्द्र !


जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव सबैतिरबाट एक्लिएका छन् । सत्ता गठबन्धनमा सामेल भए पनि आफूले भनेजस्तो नभएपछि उनले एक्लो महसूस गर्न थालेका हुन् । पूर्व माओवादी उपेन्द्रले स्वदेशमा प्रचण्ड र परराष्ट्रमा केही शक्तिकेन्द्रहरूलाई विश्वासमा लिँदै आएका थिए । खासगरी युरोपिएन युनियन र उत्तरको छिमेकी मुलुकसँग उपेन्द्रको सम्बन्ध विशेष मानिन्छ । तर पछिल्लो समयमा नेपाली राजनीतिमा अमेरिका हाबी भएको र नेपालमा चीन रक्षात्मक बन्दै गएकोले उपेन्द्र चिन्तित रहँदै आएका छन् । प्रचण्डले समेत पूर्ण साथ नदिने देखिएपछि उपेन्द्र एक्लिएको महसूस गर्दैछन् र, निराश बनेका छन् ।

निर्वाचन क्षेत्र भागबण्डाका क्रममा जसपालाई तेह्र स्थान मात्र दिइने कुराले यादवलाई असन्तुष्ट बनाएको हो । उनले १८ नर्वाचन क्षेत्रमा दाबी गरेका थिए र १५ भन्दा कम क्षेत्र भागमा पारिने यादवले ठानेका थिएनन् । तर, जसपाको भागमा १३ भन्दा बढी निर्वाचन क्षेत्र हात नपर्ने स्थिति बनेपछि यादव असन्तुष्ट बनेर भौँतारिएका हुन् । माओवादी-काङ्ग्रेस गठबन्धनमा सम्मानजनक स्थान नमिले यादव नेकपा एमालेसँग चुनावी गठबन्धन बनाउने निष्कर्शमा पुगेका हुन् र केही सातायता यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गर्दै आएका पनि छन् ।

यादव यस क्रममा भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवकहाँ समेत गुहार माग्न पुगेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । उपेन्द्र यादवको छटपटी बढ्नुको मूल कारण महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा सामेल गराइने भन्ने कुराले पनि हो । काङ्ग्रेस र माओवादी माथी लोसपालाई सत्ता गठबन्धनमा सामेल गराउन चर्को दबाब परेको छ । उपेन्द्रको असहमतिका कारण काङ्ग्रेस र माओवादीका नेताहरू लोसपालाई गठबन्धनमा सामेल गर्न हिचकिचाइरहेका छन् ।

उता उपेन्द्र यादवले लोसपालाई बेग्लै गठबन्धनमा सामेल गर्न नचाहे पनि जसपा र लोसपाबीच एकीकरणको चाहना भने राखेका छन् । पार्टी एकीकरण भएमा लोसपाका नेताहरूमाथि समेत आफ्नै राज चल्ने विश्वासमा उपेन्द्र छन् । त्यसैले लोसपासँग तत्काल एकीकरणका निम्ति यादवले भारतलाई समेत गुहारेको बुझिन आएको छ । पार्टी एकीकरण नभएको र सत्ता गठबन्धनमा लोसपालाई सामेल गरिएको स्थितिमा उपेन्द्र यादव सत्ता गठबन्धनबाट बाहिरिने र नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुग्ने सम्भावना अधिक देखिएको छ ।