देउवा र प्रचण्ड ढुक्क !

देउवा र प्रचण्ड ढुक्क !


नागरिकता विधेयकलाई जस्ताको त्यस्तै प्रमाणिकरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि चर्को दबाब दिएको भए पनि राष्ट्रपति त्यसबाट प्रभावित नभएको बुझिएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले गत साता राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित हुनुभन्दा दुई दिनअघि राष्ट्रपतिसँग विशेष भेट गरी विधेयक प्रमाणिकरण गरिदिन आग्रह गर्नुभएको थियो । त्यस क्रममा राष्ट्रपतिबाट मिलेको जवाफका आधारमा प्रचण्डले विधेयक प्रमाणिकरण हुने सम्भावना नरहेको जानकारी आफ्नो पार्टीमा गराएका छन् । प्रचण्डको भनाइ छ- ‘राष्ट्रपति डेग चल्ने देखिनँ ।’

त्यसैगरी, प्रधानमन्त्री देउवालाई पनि राष्ट्रपतिले ‘राम्रो जवाफ’ दिएर फर्काइदिनुभएको बुझिएको छ । देउवाले गिडगिडाउँदै नागरिकता विधेयक प्रमाणिकरण नभए धेरैलाई समस्या पर्ने बताएका थिए । जवाफमा राष्ट्रपतिले देशलाई कस्तो समस्या पर्छ भन्नेबारे विचार गर्न प्रधानमन्त्रीलाई सुझाउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले कतै सङ्कटकालकै घोषणा गरिदिने होकि भन्ने चिन्ताले छटपटिएर देउवा र प्रचण्ड राष्ट्रियसभाबाट विधेयक पारित हुनुअगावै राष्ट्रपतिको मनस्थिति बुुझ्न त्यसरी भेटका लागि शीतल निवास पुग्नुभएको थियो । विधेयक प्रमाणिकरण नभए पनि राष्ट्रपतिबाट सङ्कटकाल घोषणा नहुनेमा प्रचण्ड र देउवा ढुक्क हुनुभएको बुझिएको छ ।