बेलायत । अमेरिकाले आफ्नो अगुवाईमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, जोर्डन, बहराइन र कतारको साथमा इस्लामिक स्टेट (आईएस) विरुद्ध सिरियामा सोमबार बिहानदेखि हवाई आक्रमण शुरु गरिसकेको छ । यो अमेरिकाको आफ्नो मात्र युद्ध नभएको भन्दै राष्ट्रपति बाराक ओबामाले सम्पूर्ण अरब मुलुकलाई समर्थनका लागि गुहारेका छन् । पहिलो दिनमा कम्तीमा ७० आईएस विद्रोही र ५० अलकायदासम्बद्ध लडाकु मारिएको बताईएको छ ।
हाल सिरिया र इराकको ठूलो क्षेत्र आईएसको अधीनमा छ । अमेरिकाले इराकमा अगस्तदेखि झन्डै २ सय पटक हवाई आक्रमण गरेको छ । धेरै गृहकार्यपछि उसले उत्तरपूर्वी सिरियाको राकास्थित आईएसको मुख्य किल्ला र मुख्यालयलाई निसाना बनाएर क्षेप्यास्त्र प्रहार गर्नुको साथै आईएसका अन्य क्षेत्रमा रहेका तालिम परिसर, वाहन र भण्डारण क्षेत्रलाई पनि निसाना बनाइएको छ ।
ओबामाले भनेका छन् -‘हाम्रा नागरिकलाई जोखिम पुग्ने गरी आतंकवादीलाई सुरक्षित स्थल दिन सक्दैनौं,’ । सिरियाली राष्ट्रपति बसार अल असादलाई सत्ताबाट हट्न बाध्य हुने वातावरण सिर्जना गरिदिन आग्रह गर्दै विपक्षी दलहरूको गठबन्धनले यस कारबाहीको स्वागत गरेको छ । आईएसको त्रासले १ लाख ३० हजारभन्दा बढी सिरियाली टर्कीमा शरण लिन पुगेका छन् ।
इजरायली रक्षामन्त्री मोसे यालुनले विज्ञप्तिमार्फत गोलानको इजरायल क्षेत्रतर्फ चुनौतीपूर्ण रूपले आएको सिरियाली विमानलाई आफ्ना सैनिकले हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरी झारेको जनाएका छन् । यसैबीच इजरायलको सुरक्षामा चुनौती आए त्यसको बलपूर्वक प्रतिक्रिया दिइने बताएका छन् ।
अब यस युद्दमा बेलायतले पनिआफ्नो उपस्थिति जनाउने पक्कापक्की भएको छ । बेलायतले यो युद्दमा अमेरिकालाई सहयोगको गर्नेछ । बेलायतले सिरियामा हवाई आक्रमणको लागि RAF लाई तयारी अवस्थामा राखेको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन युनाईटेड नेसनको मिटिङबाट फर्केलगत्तै शुक्रबार क्याबिनेट मिटिङ बसी बिपक्षी दल लेबरको समेत सहमतिमा अन्तिम निर्णय लिएर सायद यो सप्तहान्तबाट उसले आफ्नो आक्रमण शुरु गर्नेछ । बिपक्षी दलका नेता ईद मिलीब्यान्डले स्पष्ट संकेत गरेकाछन् कि उनको दल यस युद्दमा सरकारको पक्षमा छ ।
बेलायती प्रधानमन्त्रीले भने -‘बेलायत कुनै पनि हालतमा यो युद्दबाट अलग भएर बस्न सक्दैन । हामी हाम्रो देश र जनताको रक्षाको लागि पनि यो युद्दमा भाग लिनै पर्दछ । उनीहरुले हामी बेलायतीहरुलाई पनि धम्की दिइरहेका छन् त्यसैले यस दुष्ट बिचार भएका समूहलाई ध्वस्त गर्नु जरुरी छ । बेलायतको स्पेसल फोर्सेस ट्रुप, स्पेसल बोट सर्भिस र स्पेसल रेकोनाईसेन रेजिमेन्ट इराकमा प्रबेशको निम्ति तयारी हालतमा राखिएको छ ।’
प्रतिक्रिया