एक्लै उभिएर क्षितिजमा

एक्लै उभिएर क्षितिजमा


  • गंगा खड्का

वचनको धारिलो खञ्जरले छाती रोपिँदा
कति दुख्यो, मै दुखेँ
तिमीले त देख्यौ केवल
टाँका लगाएको मेरो आदिम डोब

बोली तिम्रो सँधै गीत सम्झेँ
गाली हरदम सङ्गीत मानेँ
हुङ्कारलाई झङ्कार ठानी
यो मनलाई भाँचिरहेँ
आँसु, एकान्तमा मात्रै खस्नु भनी
आँखाभित्रै साँचिरहेँ ।
वचनको खञ्जर हरदम रोपिएको छ
भित्र घाउ आलो छ
बाहिर खाटाले छोपिएको छ ।

म, मजस्तो कहिल्यै भइनँ
तिमी कुमाले म माटो बनिरहेँ
तिमीले चाहेजसरी म झिरमा उनिइरहेँ,
छाया भएर बसेँ तिमीदेखि टाढा कतै गइनँ
तिमीजस्तै बनेँ म,
म आफूजस्तो कहिल्यै भइनँ ।

मेरो शरीर मेरो भन्नु मात्र थियो
श्वास तिम्रो फेरिरहेँ
लहराले रुखलाई नछोडे झैँ
अन्तिमसम्म तिमीसँगै बेरिइरहेँ
तिम्रै अँगालोको घेराभित्र घेरिइरहेँ ।
एक्लै उभिएर क्षितिजमा
सोचिरहेँ मैले,
म दुखेको चोट
तिम्रा आँखाहरूमा कहिल्यै नउदाओस् ।