नेपालमा थप दुई सय तीनमा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप दुई सय तीनमा कोरोना सङ्क्रमण पुष्टि


नेपालमा मंगलबार थप दुई सय तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा अवधिमा पाँच हजार ५९ को नमूना परीक्षण गरिएको थियो । एक हजार तीन सयले पिसिआर र तीन हजार सात सय ५९ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चार लाख २९ हजार आठ सय सातले कोभिडविरुद्धको खोप लगाएका छन् । आज एक सय २६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार सात सय १० पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ३२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ । होम आइसोलेशनमा दुई हजार एक सय ५२, संस्थागत आइसोलेशन ८०, आइसियु १७ र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर र चितवान रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, अर्घाखाँची, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा आठ सय ५२, ललितपुर तीन सय ९४ र भक्तपुरमा ३३ सक्रिय सङक्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।