डडेल्धुराका पाँच स्थानीय तहमा देखियो डेङ्गु

डडेल्धुराका पाँच स्थानीय तहमा देखियो डेङ्गु


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा पनि डेङ्गु रोगका बिरामी देखिन थालेका छन् । जिल्लाका पाँच स्थानीय तहमा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

वास्थ्य कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेङ्गुका बिरामी फेला परेका हुन् । सात स्थानिय तह रहेको डडेल्धुरामा जिल्लाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा भने डेङ्गुको संक्रमण देखिएको छैन ।

अहिलेसम्म डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा २८ जनामा डेङ्गु देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार २८ जनामध्ये १६ जना डडेल्धुराका छन् भने बाँकी ९ जना बैतडी र ३ जना डोटीका रहेका छन् । डडेल्धुरामा सबैभन्दा बढी अमरगढी नगरपालिकामा ९ जनामा डेङ्गु देखिएको उनले बताए ।

यसैगरी भागेश्वर गाउँपालिकामा ३, गन्यापधुरा र नवदुर्गामा २-२ र अजयमेरु गाउँपालिकामा एक जनामा डेङ्गु देखिएको छ । डेङ्गुको संक्रमण जिल्लाका पाँच वटा स्थानिय तहमा फैलिएपछि नियन्त्रणका लागि बासस्थान पत्ता लगाएर लार्भा मार्ने अभियान सञ्चालनबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।