चिनियाँ उच्चस्तरका कम्युनिष्ट नेताहरूको नेपाल भ्रमणले यहाँका गैरकम्युनिष्ट राजनीतिक शक्तिलाई सशङ्कित बनाएको छ । चीनको राष्ट्रिय जनकंग्रेसका प्रमुख ली चान्सुको नेतृत्वमा ६७ सदस्यीय चिनियाँ कम्युनिष्ट नेताहरू नेपाल भ्रमणमा आएपछि गैरकम्युनिष्ट शक्ति झस्किएको हो ।
ली चिनियाँ कम्युनिष्ट पार्टीमा रोलक्रम अनुसार तेस्रो नम्बरका वरिष्ठ नेता हुन् । चिनियाँ कम्युनिष्ट पार्टीमा ७२ वर्षीय ली राजनीति हिसाबले राष्ट्रपति सी जिनपिङभन्दा पुराना नेतामा गनिन्छन् । यो साता लीको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका अधिकांश वरिष्ठ र अग्रज नेताहरू सहभागी थिए । नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सम्मुखमै किन यति ठुलो चिनियाँ नेताहरूको भ्रमण भयो भन्ने विषयले यहाँका गैरकम्युनिष्ट शक्तिहरूभित्र तरङ्ग ल्याएको छ ।
खासगरी चिनियाँ कम्युनिष्ट शक्तिले नेपालका कम्युनिष्टहरूलाई एकीकृत गर्न विगतमा भूमिका खेलेकोले यहाँका गैरकम्युनिष्टहरू सशंकित बनेका हुन् । चुनाव नजिकिँदै गर्दा चिनियाँ नेताहरूको यो भ्रमणले कतै नेपालका कम्युनिष्टहरूलाई एकठाउँमा त ल्याउँदैन ? यो विषयले अहिले चर्चा पाएको छ ।
चीनले बेलाबेलामा अमेरिकी गतिविधि नेपालमा बढेको भन्दै आलोचना गर्दै आएको छ । यसबारेमा लीले नेपालका कम्युनिष्ट नेताहरूसँगको भेटमा पनि अमेरिकी सक्रियताबारे चासो राखेका थिए । लीले भ्रमणका क्रममा भेट गरेका नेपालका कम्युनिष्ट नेताहरू एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अमेरिकी परियोजना एमसीसी र एसपीपीका बारेमा गम्भीर रूपमा चासो व्यक्त गरेका थिए । चीनको यो चासोप्रति नेपालका गैरकम्युनिष्टहरूले सार्वभौम मुलुकप्रति चीनको दृष्टिकोणमा खोट लुकेको आरोप लगाएका छन् ।
स्मरणीय छ, २०७४ सालको चुनावको बेलामा नेपालका लागि चिनियाँ राजदुतको सक्रियता र यहाँका कम्युनिष्ट नेताहरूसँग भएको बाक्लो भेटघाटले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एक ठाउँमा ल्याएको थियो । चुनावलगत्तै यी दुवै पार्टीले एकीकरण गरेका थिए । अहिले पनि मंसिर ४ गते चुनाव तोकिएको यो आसन्न घडीमा चिनियाँ कम्युनिष्ट नेताहरूको नेपालमा सक्रियताले सत्ता गठबन्धनभित्र गडबड त गर्दैन केही दिन प्रतीक्षा गर्नैपर्ने हुन्छ ।
नेपाल-चीनबीच ६ बुँदे सहमति
नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । लीले संसद् भवन परिसरमै सभामुख सापकोटासँग भेटवार्ता गरेका छन् । सोहीक्रममा ६ बुँदे समझदारी भएको संसद् सचिवालयले जनाएको छ ।
यस्तो छ समझदारी-
१. दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् ।
२. दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयमिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् ।
३. दुवै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन् ।
४. दुवै पक्षले संसदीय मैत्री समूहहरूलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्नेछन् र साथ दिनेछन् तथा दुई व्यवस्थापिका बीच सदभाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन् ।
५. दुवै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत समेत दुई राष्ट्रहरू बीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन् ।
६. दुवै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी यूनियन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरूको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन् ।
प्रतिक्रिया