मार्क्सवाद र वामपन्थवाद छोडेर गैह्र कम्युनिष्ट आन्दोलनमा सहभागी भएको दाबी गर्दै अनेक नामका दल खोल्दै भौँतारिएका बाबुराम भट्टराईप्रति माओवादी अध्यक्ष प्रचण्डको मोह रहश्यपूर्ण ढङ्गले अधिक देखिएको छ ।
बाबुरामलाई जसरी भए पनि संसद्भित्र प्रवेश गराउने बाह्यशक्तिको इच्छा र इसाराका कारणले मात्र भट्टराईप्रति प्रचण्ड सकारात्मक रहेको ठानिँदैन । पूर्व माओवादीहरू जतिलाई एकतावद्ध गराउने उद्देश्यले मात्र प्रचण्डमा बाबुरामप्रतिको मोह बढेको ठानिँदैन । यसअघि काङ्ग्रेसलाई वैशाखी बनाएर चुनाव जित्न सफल बाबुरामलाई गोरखाको २ नम्बर क्षेत्रबाट जिताइदिने जिम्मेवारी प्रचण्डले लिएपछि उनको बाबुराम-मोह प्रकट भएको हो ।
गत (२०७४) को निर्वाचनमा गोर्खाको उक्त निर्वाचन क्षेत्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ वामपन्थी गठबन्धनका उम्मेदवार बनेका थिए । यसपटक काङ्ग्रेस बाबुरामलाई बोक्न तयार नहुने देखिएपछि प्रचण्ड अगाडि सरेका छन् । यसले माओवादी नेतृत्वमा बाह्य प्रभाव निर्णायक तहमै रहेको स्पष्ट गरेको छ ।
तर बाह्यशक्तिका इच्छाले प्राथमिकता पाएर मात्र प्रचण्ड बाबुरामको पक्षमा उभिएको ठानिँदैन, कदाचित नारायणकाजी श्रेष्ठको प्रतिनिधिसभामा प्रवेश भयो भने आफ्नो शक्ति र हैसियतमा धावा बोल्नसक्ने त्रास प्रचण्डमा रहेको बताइन्छ । श्रेष्ठको प्रतिनिधिसभामा प्रवेश भएमा उनले संसदीय दलको नेता पदमै ‘धावा’ बोल्न सक्ने आशङ्का प्रचण्डले गरेका छन् । त्यसैले अरु जुनसुकै जिम्मेवारी सुम्पन प्रचण्ड तयार भए पनि नारायणकाजीलाई प्रतिनिधिसभामा प्रवेश गराउन चाहँदैनन् ।
श्रेष्ठलाई २०७० सालको निर्वाचनमा मकवानपुरबाट उम्मेदवार बनाइएको थियो । उक्त निर्वाचनमा प्रचण्डले अजय सुमार्गी र रामनारायण बिडारीलाई प्रयोग गरेर श्रेष्ठलाई पराजित गराइदिएका थिए । त्यसपछि २०७४ को संसदीय निर्वाचनमा गोरखा क्षेत्र नं. २ मा उम्मेदवार बनेका श्रेष्ठलाई आफ्नै स्वकीय सचिव चुडामणि खड्का लगाएर पराजित तुल्याइएको थियो । श्रेष्ठलाई निर्वाचनमा हराइदिएबापत प्रचण्डले खड्कालाई सांसद बनाइदिएका थिए । यसपटक गठबन्धनको उम्मेदवार बन्दा श्रेष्ठलाई हराउन नसकिने स्थिति भएपछि उक्त निर्वाचन क्षेत्रबाट पुनः बाबुराम भट्टराईलाई नै विजयी बनाएर संसद्मा भित्र्याउने योजनामा प्रचण्डले बनाएका छन् । त्यसैले नारायणकाजी श्रेष्ठलाई यसपटक पनि प्रतिनिधिसभामा प्रवेश हुनबाट रोकिने सम्भावना प्रबल भएको छ ।
प्रतिक्रिया