सत्ता गठबन्धनमा पौने एक दर्जनभन्दा बढी व्यक्तिहरू प्रधानमन्त्री पदका दावेदार भए पनि निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धन मौन रहेको छ । सङ्ख्यात्मक स्थिति अनुकुल भएमा प्रधानमन्त्री बन्ने सम्भावित व्यक्ति शेरबहादुर देउवा नै हुन्, तर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दा गठबन्धनका पक्षमा आवश्यक मतदान नहुने त्रास उनीहरूमा छ ।
आगामी संसदीय निर्वाचनमा विजयी बनेमा सरकार कसको नेतृत्वमा गठन हुन सक्छ भन्नेबारे प्रमुख विपक्षी नेकपा एमाले स्पष्ट भए पनि सत्ता गठबन्धनमा उत्पन्न अन्यौल कायम रहेको छ । देशका कुल १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी (कम्तिमा १३०) निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने पार्टीमा नेकपा एमाले मात्र रहेको छ । उसले बढीमा पैँतीस निर्वाचन क्षेत्र अन्य समूहका लागि छोडिदिए पनि १३० क्षेत्रमा एमालेका उम्मेदवार रहनेछन् र, एमालेले केपी शर्मा ओलीलाई सम्भावित प्रधानमन्त्रीका रूपमा घोषणा गरेको छ । उक्त पार्टीमा प्रधानमन्त्रीको दाबी गर्ने हैसियतका अन्य नेता नभएकोले पनि उसलाई प्रधानमन्त्री घोषणा गर्न सहज भएको छ ।
सत्ता गठबन्धनमा प्रधानमन्त्रीका आकाङ्क्षीहरू पौने एक दर्जनको सङ्ख्यामा रहेका छन् । चुनावपछि पनि शेरबहादुर देउवा आफैं प्रधानमन्त्री बन्न चाहन्छन् र, आफू बन्न नसकेको अवस्थामा श्रीमती आरजु राणालाई नै प्रधानमन्त्री बनाइदिने सोच देउवाले बनाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्ने आकाङ्क्षा राखिरहेका छन् भने डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालालाई समेत सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिन्छ । पार्टीभित्र विश्वप्रकाश शर्मालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मत पनि देखापरेको छ भने गगन थापाले चुनावपछि आफू प्रधानमन्त्री बन्ने सार्वजनिक घोषणा आफैंले गरिसकेका छन् । घोषणा नगरे पनि विनोद चौधरीसमेत प्रधानमन्त्री बन्ने ताकमा रहेको बताइन्छ ।
काङ्ग्रेसबाहेक गठबन्धनका अन्य नेताहरू पनि प्रधानमन्त्रीका दावेदार छन् । तीमध्ये प्रचण्ड प्रधानमन्त्री पदका सबैभन्दा सशक्त दावेदार मानिन्छन् । उनी निर्वाचनलगत्तै प्रधानमन्त्री बन्न चाहन्छन्, तर निर्वाचनलगत्तै स्थिति अनुकुल भए शेरबहादुर देउवा आफैं प्रधानमन्त्री बन्ने योजनामा छन् । देउवालाई राष्ट्रपति र श्रीमती देउवालाई उपप्रधानमन्त्री बनाएर जाने स्थिति उत्पन्न भएमा मात्र निर्वाचनलगत्तै प्रधानमन्त्री बन्ने मौका प्रचण्डलाई प्राप्त हुन सक्नेछ । होइन भने संसद्को पाँचवर्षे कार्यकालभित्र प्रचण्डले पछिल्लो अढाइ वर्ष मात्र प्रधानमन्त्रीको जिम्मेवारीमा रहन पाउने स्थिति छ । गठबन्धनमा सामेल नेताहरूमध्ये माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र उपेन्द्र यादवसमेत प्रधानमन्त्री बन्ने सपना देख्दैछन् ।
यसरी सत्ता गठबन्धनमा पौने एक दर्जनभन्दा बढी व्यक्तिहरू प्रधानमन्त्री पदका दावेदार भए पनि निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धन मौन रहेको छ । सङ्ख्यात्मक स्थिति अनुकुल भएमा प्रधानमन्त्री बन्ने सम्भावित व्यक्ति शेरबहादुर देउवा नै हुन्, तर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दा गठबन्धनका पक्षमा आवश्यक मतदान नहुने त्रास उनीहरूमा छ । देउवा मात्र होइन प्रचण्ड, माधव, झलनाथ, उपेन्द्र या जो जसलाई सम्भावित प्रधानमन्त्री घोषणा गरे पनि जनमत भड्किने खतरा भएकोले भावी प्रधानमन्त्री तोक्न सत्ता पक्ष डराएको छ ।
प्रतिक्रिया