आबेको अन्त्येष्टिमा लाग्ने खर्च राज्यकोषको दुरुपयोग भन्दै विरोध

आबेको अन्त्येष्टिमा लाग्ने खर्च राज्यकोषको दुरुपयोग भन्दै विरोध


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

गत जुलाईमा चुनावी प्रचारको क्रममा गोली प्रहार गरी हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको राजकिय अन्त्येष्टि समारोह नजिकिँदै गर्दा जापानको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

केही समर्थन र केही विरोधका बाबजुद जापान सरकारले आबेको राज्यप्रतिको योगदानको कदर गर्दै यही सेप्टेम्बर २७ तारिख टोकियोको बुदोउखानमा राजकीय अन्त्येष्टि आयोजना गर्ने तयारी गरिरहेको छ । सत्तारुढ दलका पूर्वअध्यक्ष तथा जापानको इतिहासमा नै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको अन्त्येष्टिमा लाग्ने खर्चमा राज्यकोषको दुरुपयोग गरिएको भन्दै दिनहुँजसो शान्तिपूर्ण प्रदर्शनहरु भइरहेको छ।

एकातिर, विश्वकै सुरक्षित मुलुकहरुको सुचीमा अगाडि रहेको मुलुकमा पूर्वप्रधानमन्त्रीको दिनदाहडै हत्या हुनु, नागरिक समूह लगायतका एक पक्षको निरन्तर विरोध कायम रहनु एवं विश्वका राष्ट्रप्रमुख तथा शर्षिस्थ नेताहरुको आगमन हुने विशेष समारोह भएकाले पनि यस पटक जापानले अहिलेदेखि नै सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।

मुलुकको मूख्य अन्तर्राष्ट्रिय विमानस्थल हानेदा, नारिता लगायत मुलुकभित्रैका खासगरी टोकियोका हरेक शहर तथा स्टेसनहरुमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाइएको छ।

आबेको राजकिय अन्त्येष्टिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, क्यानेडियन प्रधानमन्त्री जस्टिन टुडो, युरोपियन काउन्सिलका अध्यक्ष चार्स मिसेल लगायतका १ सयभन्दा बढी उच्च व्यक्तित्वहरुले सहभागिता जनाउने निश्चित भइसकेको छ।