विप्लवका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय

विप्लवका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय


सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको दाबी गरिएको छ ।

नेकपा प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले बिहीबार विज्ञप्ति निकालेर आफ्ना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको २७ भदौको निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

गत ६ साउनमा ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव, प्रवत्ता प्रकाण्डलगायतका नेता र कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको थियो । तर, चार दिनअघि २७ भदौ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्ना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको नेकपाले दाबी गरेको हो ।

यसबारे प्रकाण्डले जारी गरेको विज्ञप्ति-

१) नेपाल कम्युनिष्ट पार्टी र केपी ओली नेतृत्वको सरकार वीच वार्ता भै २०७७ फाल्गुण २१ गते तीनबुँदे सहमतिमा हस्ताक्षर भएको विषय नेपाली राजनीतिमा स्थापित नै छ । अपशोच सहमति भएको पाँच महिनासम्म चलेको ओली सरकार सहमति कार्यान्वयन नगरेरै विघटन भयो ।

२) शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको तेस्रो दिनमा प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. विप्लव र प्रवत्ता क. प्रकाण्डबीच वार्ता भइ तीन बुँदे सहमतिप्रति सरकार प्रतिबद्ध रही कार्यान्वयन गर्ने सहमति भएको थियो ।

३) सहमति कार्यान्वयनको उद्देश्यमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँड र नेकपाका वार्ता टोली प्रमुख क. प्रकाण्डबीच बालुवाटारमा भएको भेटवार्तामा तीनबुँदे सहमति कार्यान्वयनको प्रकृया अगाडि बढाउन देउवा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणलाई जिम्मा दिने सहमति भयो ।

४) तत्पश्चात नेकपा र सरकारको वार्ता टोलीबीच तीनबुँदे सहमति कार्यान्वयन, मुद्दा खारेजी र बन्दी नेता कार्यकर्ता रिहा गर्ने विषयमा पटक पटक वार्ता र सहमति भइ कार्यान्वयनको प्रकृया अगाडि बढी नै राखेको थियो । यसैबीचमा ललितपुर जिल्ला अदालतले २०७९ साउन ६ गते निर्णय गरी १६ गते सार्वजनिक गरेको नेकपाका महासचिव क. विप्लव, प्रवक्ता क. प्रकाण्ड लगायतका नेता र कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेपछि वार्ता र सहमतिबाट हासिल भएका उपलब्धिहरुमाथि तुषारापात भयो । देशको राजनीतिक परिस्थिति वार्ता र सहमतिका विरुद्ध बन्न थाल्यो । यसले नेकपा, नेपाली जनता र वार्ताद्वारा तीनबुँदेसहमति यथासीघ्र कार्यान्वयन होस् भन्ने भावना र चाहनामा गम्भीर आशंका, चिन्ता र अविश्वास पैदा गर्‍यो । अवस्था पूरै नकारात्मक दिशातिर जान थाल्यो ।

५) विषय र परिस्थितिको यही गम्भीर्यतालाई दृष्टिगत गरी २०७९ भाद्र २२ गते गृहमन्त्री बालकृष्ण खाणसँगको भेटवार्ता र भाद्र २३ गते प्रधानमन्त्री देउवा लगायतको सरकारी टोलीसँगको भेटवार्ता एवं सहमतिअनुसार देउवा सरकार तीनबुँदे सहमतिप्रति प्रतिवद्ध रहेको, कार्यान्वयनको प्रकृया तदारुकताका साथ अगाडि बढाउने र मुद्धा खारेजीका सम्बन्धमा मन्त्रीपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्धन्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशीघ्र फर्छ्योट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने भनी भएको सहमति २०७९ भाद्र २७ गते बेलुकी बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ । सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीनबुँदे सहमति कार्यान्वयनलाई गुणात्मकता प्रदान गरेको छ ।

६) देउवा सरकारको यो निर्णयलाई नेपाल कम्युनिष्ट पार्टी स्वागत गर्दछ । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन मन्त्री गोविन्द बन्दी कोइराला र महान्यायधिवत्ता खम्मबहादुर खाती लगायत वार्ता प्रकृयामा सहभागी सबैलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।

७( तीनबुँदे सहमतिमा उल्लेखित नेपाल कम्युनिष्ट पार्टीको दायित्वप्रति पार्टी इमान्दार, प्रतिबद्ध रहेको र सहमतिको मर्मलाई अक्षरश: कार्यान्वयन गर्न दृढ भएको कुरा पनि स्पष्ट गर्दछौँ ।