गण्डक जलविद्युत केन्द्र जीर्ण, विद्युत् उत्पादनमा ह्रास

गण्डक जलविद्युत केन्द्र जीर्ण, विद्युत् उत्पादनमा ह्रास


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत रहेको गण्डक जलविद्युत केन्द्रमा सम्झौताभन्दा अति न्यून क्षमतामा विद्युत उत्पादन हुँदै आएको पाइएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको गण्डक जलविद्युत केन्द्र सुर्यपुराबाट वर्तमान अवस्थामा साढे ४ मेगावाट विद्युत उत्पादनमै सीमित रहेको जलविद्युत केन्द्रका प्रमुख सुनिलकुमार चतुर्वेदीले जानकारी दिनुभएको छ ।

जलविद्युत केन्द्रमा रहेका तीन वटा टर्वाइनमध्ये एउटा बिग्रिएको र हाल दुई वटा टर्वाइन मात्र सञ्चालनमा रहेको केन्द्रप्रमुख चतुर्वेदीको भनाइ छ । गण्डक मुख्य पश्चिमी नहरको पानीबाट सञ्चालन भएको जलविद्युत केन्द्रमा १५ मेघावाट विद्युत उत्पादन हुनुपर्नेमा केन्द्र जिर्ण अवस्थामा रहेको तथा नहरको अवस्था पनि जिर्ण नै रहेको कारण लक्ष्यअनुसार विद्युत उत्पादन हुन नसकेको र उत्पादित विद्युतबाट चित्त बुझाउनु परेको बताइएको छ ।

करिब ४० वर्ष पुरानो जलविद्युत केन्द्रमा मर्मत सम्भारअभावले गर्दा विद्युत उत्पादनमा कमी आएको विद्युत केन्द्रको श्रोतले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले जलविद्युत केन्द्रमा जडान मेसिनलाई समयसापेक्ष मर्मत सम्भार नगरिदिँदा लाखौँ रकमको घाटा हुन गएको समेत बुझिएको छ । बिग्रिएको टर्वाइनलाई मर्मतसम्भार गर्न लाखौँ रकम खर्च गर्न सकिने तर नयाँ मेसिन खरिद गर्न नसकिने जलविद्युत केन्द्रमा भित्रभित्र नै ठुलो रकमको आर्थिक चलखेल भएको हुन सक्ने अनुमानसमेत गरिएको छ ।

जलविद्युत सञ्चालन हुने गण्डक नहरको पानी ब्यवस्थापन गर्ने साँचो भारतीय पक्षको हातमा रहेबाट विद्युत केन्द्र पनि भारतीय निर्भरतामा हुने र पानी खोल्ने तथा बन्द गर्ने कार्यमा नेपाली पक्षको कुनै भूमिका नरहनुले विद्युत उत्पादन कार्य प्रभावित हुने गरेको छ । गण्डक नहर र जलविद्युत केन्द्रको अवस्था पनि जिर्ण रहेको हुँदा भविष्यमा आइपर्ने चुनौतीलाई समयमै ध्यान नपुऱ्याए विद्युत उत्पादनको कार्यमा आत्मनिर्भरको सपना देखेको प्राधिकरणले कसरी सपना पूरा गर्ने हो भन्ने चिन्ता र चासोको विषय समेत बनेको छ ।