समानुपातिकतर्फको उम्मेदवार तय गर्न विभिन्न मापदण्ड बनाउने एमाले सचिवालय बैठकको निर्णय

समानुपातिकतर्फको उम्मेदवार तय गर्न विभिन्न मापदण्ड बनाउने एमाले सचिवालय बैठकको निर्णय


आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक शनिबार साँझ सम्पन्न भएको जनाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आज आइतबार बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएका थिए । बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको नेता गुरुङले जानकारी दिए ।

बाढीपहिरोका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने पनि एमालेले निर्णय गरेको छ । घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उनले जानकारी दिए । बैठक आज बिहान ११ बजे पुनः बस्ने बताइएको छ ।