खोलाले बगाएका शिक्षकको २२ घण्टापछि उद्धार

खोलाले बगाएका शिक्षकको २२ घण्टापछि उद्धार


नुहाउन जाने क्रममा लडेर सिन्धुपाल्चोकको हेलम्बु–१ स्थित छ्यादी खोलाले बगाएका शिक्षकको उद्धार गरिएको छ ।

दोलखा कालीञ्चोक-३ घर भएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टरमार्फत आज २२ घण्टापछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

उनलाई छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुङ्गाको कापबाट उद्धार गरिएको हो । हेलम्बु गाउँपालिकाको सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक सिवाकोटी नुहाउन जाँदा शनिबार खोलामा लडेर बेपत्ता भएका थिए ।

आइतबार बिहान सकुशल रहेको जानकारी पाएपछि सेनाले उनलाई हेलम्बु-१ ठाडो खोला भिरमा अड्केको अवस्थामा उद्धार गरेको हो । उनलाई उपचारका लागि काठमाडौंको केएमसी अस्पताल लगिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिएका छन् ।

खुट्टामा सामान्य चोटपटक लागेको उनको अवस्था सामान्य रहेको शेर्पाको भनाइ छ । उनको उद्धारमा सेना, प्रहरी र स्थानीयवासी लागेका थिए ।