बोर्डन, बेलायत । हरेक बर्षहरुमा झैं यस बर्ष पनि दशैं हाम्रो घरआगनमा टुप्लुक्क आई पुगेको छ । यस बारेमा बिभिन्न बिवादहरु भए पनि सबै नेपालीहरुले साझा रुपमा मनाउँदै आएका छन् । कसै कसैले यो हाम्रो मौलिक चाड हैन, यो त हामीमाथि जबरजस्ती लादिएको हो भन्नेहरु पनि छन्, खैर जे भए पनि……..दशैं हामी नेपालीहरुले सदीयौंदेखि मान्दै मनाउँदै आएका हौं तर पनि कतिपयलाई किन कसरी मनाउँछौ भन्ने थाहा छैन अझै, अहिलेका बालबालिकाहरु जो बिदेशमै जन्मेहुर्केकालाई थाहा हुने कुरै भएन ।
कलियुगको शक्ति भनेकै संघ, संगठन हो । आसुरी शक्तिको अत्याचारबाट राष्ट्र, समाज र सात्त्विक भावका सम्पूर्ण देवताहरूको पीडालाई हर्न भगवती नवदुर्गाको प्रादुर्भाव भएको हो। देवताको संगठित शक्ति महाशक्ति दुर्गा हुन्। चन्द्रमासअनुसार आश्विन शुक्लपक्षको प्रतिपदादेखि दशमीसम्म शक्ति उपासना गर्ने पद्धतिलाई दशैं भनिन्छ। घटस्थापना अश्विन शुक्ल प्रतिपदाको दिन शुद्ध माटो, गोबरले घर लिपी, दीयो कलश गणेशको विधिसहित पूजा गरी घटस्थापना गर्नुपर्छ। नवदुर्गा भवानीको आहान, स्थापना र पूजा गर्नुपर्छ ।
वर्षमा चारवटा नवरात्रहरू पर्छन्। तीमध्ये आश्विन शुक्ल, चैत्र शुक्लमा, आषाढ शुक्ल, माघ शुक्ल प्रतिपदादेखि आरम्भ हुने दैवीशक्ति उपासनाको पद्धति नै नवदुर्गा भवानीको साधना पद्धति हो। गहुँ र जौं अन्य प्रकारका अंकुर आउने बीज मिसाएर जमरा राख्नुपर्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ। दशमीका दिन विजयाको पूजा गरी टीका जमरा प्रसाद लगाइन्छ ।
षष्ठी तिथिमा बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ। सप्तमीका दिन दशैंघरमा नवपत्रिका प्रवेश गराउने विधिलाई फूलपाती भित्र्याई भद्रकाली, सरस्वतीको पूजा गर्नुपर्छ। अष्टमीमा कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ। खस मष्टपूजकले बाज उडाउने र बाज अंकित झण्डा आफ्नो घरमा राख्नुपर्छ। शस्त्रास्त्र (हातहतियार, वाहनहरूको पनि पूजा गर्नुपर्छ। महानवमीमा नवदुर्गा स्वरूप नौजना कन्या र भैरव स्वरूप बटुकको पूजा गर्नुपर्छ ।
जमरा: घटस्थापनाका दिन शुभसाइतमा नयाँ फूलको स्वरूप गहुँ, जौंको जमरा राखिन्छ। विजयादशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादको रूपमा लगाइन्छ। गहुँ तथा जौंको नवअंकुर लगाउनाले सुखशान्ति, समृद्धि र स्वास्थ्यलाभ हुने शास्त्रीय मान्यता छ। नौ रात्रिसम्म पूजा गरेर अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुन्छन्। निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ। जमराबाट शीतलता प्राप्त हुन्छ। विभिन्न रोगव्याधि र कष्टहरू मेटिएर जान्छन्। अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ। स्वास्थ्यका लागि अति उत्तम मानिएको छ।
फूलपाती: नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा, आदि नौ प्रकारका पल्लवहरू दसैंघरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ। वर्षा ऋतु सिद्धिएर शरद् ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यी औषधीयुक्त पालुवाहरूलाई फूलपातीपछि औषधीय गुणले युक्त भएका पालुवाहरूको लेप लगाउनाले रोगव्याधि निको हुन्छ ।
आयुध पूजा: वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र शौर्यताको संगम हो। वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन्। भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन्। अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ। हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गछौर्ं। हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन्। नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध (हतियार० हरू छन्। भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ। हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन्, तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिध्याउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् ।
बलि: बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु। काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट यी दस प्रकारका विकारहरू छन्। विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ। नवदुर्गाका प्रसादले यी अवगुणहरू हटुन्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दशैंको हो। कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ। यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकारी दुर्भावना उत्पन्न हुन्छ। त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो। तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिको रूपमा चढाउन थाले ।
टीका: मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ। मजिठोको रातो रङमा गाईको दूधको दहीले रङ्गाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।
प्रतिक्रिया