- हरिप्रसाद भुसाल, अर्घाखाँची
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्तासाझेदार पाँच दलीय गठबन्धन कुनै पनि बेला टुट्नसक्ने बताएका छन् ।
‘एकतिर सत्तागठवन्धनमा रहेका दलहरूले हैसियतभन्दा बढी माग गरेका कारण असमझदारी भइ गठबन्धन भत्कन सक्छ, अर्कोतिर नेपाली कांग्रेसको एउटा पक्ष गठबन्धनको विपक्षमा छ’, उनले भनेका छन् ।
गत स्थानीय निर्वाचनमा आफूहरूले इमानदारिता प्रस्तुत गरेको उनले बताए । ‘बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे,’ उनले भने ।
यद्यपि आफूहरूको जोड गठबन्धन बचाउन केन्द्रित भएको नेता सिंहको भनाइ छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको भन्दै आगामी निर्वाचनबाट एमालेसहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताएका छन् ।
‘हिन्दुराज्यको बाटोमा एमाले हिँडेको र हिन्दु राष्ट्रको लागि हिन्दु राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले छ’, सिंहले भने, ‘त्यसैले परिवर्तन जोगाउन हामीले एमालेलाई हराउनुपर्छ ।’
प्रतिक्रिया