आरजुमाथि नकारात्मक टिप्पणीको परिणाम भोग्दै वाग्ले

आरजुमाथि नकारात्मक टिप्पणीको परिणाम भोग्दै वाग्ले


एक समय आफैंले योजना आयोगको उपाध्यक्ष बनाएका डा. स्वर्णिम वाग्लेलाई काङ्ग्रेसमा आइन्दा कुनै स्थान नदिन शेरबहादुर देउवा दृढ देखिएका छन् । २०७४ सालमा माओवादीको समर्थन लिएर प्रधानमन्त्री बनेका बेला शेरबहादुर देउवाले वाग्लेलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।

देउवापरिवारसँग निकटको सम्बन्ध बनाएका वाग्लेले वास्तविकता बुझेपछि कतै कुनै सन्दर्भमा ‘आरजु राणा रहिन्जेल नेपालमा सुशासन असम्भव’ भनी टिप्पणी गरेको भन्ने सूचना देउवापरिवारमा पुगेको र, त्यस घटनायता वाग्ले आरजुको खेदाइमा परेको बुझिएको छ । त्यसैले स्वर्णिम वाग्लेलाई काठमाडौंको ५ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउन डा. शेखर कोइरालाले प्रस्ताव राख्दा देउवाले सिधै इन्कार गरिरहेका छन् ।

काठमाडौं मात्र होइन देशको कुनै पनि निर्वाचन क्षेत्रबाट वाग्लेलाई टिकट दिन नसकिने सङ्केत देउवाले दिएका छन् । काठमाडौं ५ नम्बर निर्वाचन क्षेत्रमा डा. शेखरले सिफारिश गरका वाग्लेबाहेक जो-कसैलाई टिकट दिइने जानकारी देउवाले गराएको बताइन्छ ।

स्वर्णिम वाग्लेले चितनवको १ नम्बर क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने भन्ने चर्चा पनि केही समययता चलिरहेको छ । तर वाग्लेसम्वद्ध सूत्रहरूले जनाएअनुसार उनी काङ्ग्रेसमै बसेर देउवाका विरुद्ध सङ्घर्ष गर्नेछन्, बागी वा स्वतन्त्र उम्मेदवार बन्ने छैनन् ।