कैलाली क्षेत्र नम्बर ४ चर्चामा : कांग्रेसका बलायरले टिकट पाउने चर्चा चलेपछि भण्डारी असन्तुष्ट !

कैलाली क्षेत्र नम्बर ४ चर्चामा : कांग्रेसका बलायरले टिकट पाउने चर्चा चलेपछि भण्डारी असन्तुष्ट !


कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनीधिसभा निर्वाचनको टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ ।

नेपाली कांग्रेसका सभापति बीरबहादुर बलायर डोटी छोडेर कैलाली ४ मा आउने चर्चा छ, तर कैलाली ४ बाटै उम्मेदवारी दिने तयारी गरेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले भने आफूले नछोड्ने बताएका छन् ।

भण्डारीले कैलाली ४ बाहेक अन्त नजाने बताएका हुन् । उनले प्रत्यक्षबाहेक अन्य नियुक्तका पदमा पनि नबस्ने र राष्ट्रियसभामा पनि आफू नजाने बताए ।

कैलाली ४ का विषयमा अन्य व्यक्तिले टिकट पाएको भन्ने समाचार आएको भन्दै उनले हालसम्म टिकटको टुङ्गो नलागेको र आफू नै सो क्षेत्रबाट उम्मेदवार बन्ने बताए । कैलाली ४ बाट संघीय निर्वाचनमा आफ्नो सिफारिस भएको हुँदा टिकट पाउने अपेक्षा पनि रहेको उनले बताए । तर टिकट नपाएको अवस्थामा के गर्ने भन्ने बारेमा भने अर्को भेटमा कुरा गर्ने उनले बताए ।

‘म अहिले ७१ बर्षको भएँ’, बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अर्को चुनाव लड्ने मनस्थितिमा छैन, उम्मेरले पनि साथ दिँदैन, यस पटक अन्तिम उम्मेदवार बन्ने छु, उम्मेदवारी कैलाली ४ बाटै हुने छ ।’ कैलाली ४ बाट टिकट नपाए के गर्ने भन्ने बारेमा आर्को पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताएका उनले टिकट नपाए राजनीतिमा अहिले जसरी सक्रिय भने नहुने बताए ।

भण्डारी २०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखराज भट्टसँग पराजित भएका थिए । निर्वाचनमा पराजित भएपनि त्यस पछि निरन्तर जनतासमक्ष गएको र आफुले जित्ने माहोल बनाएको उनको दाबी छ ।

टिकटका बारेमा आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरागरेको भए पनि ढुक्क भने नभएको उनी बताउँछन् । ‘टिकटका विषयमा मैले सभापतिसंग १/२ पटक भेट गरेको थिएँ,’ भण्डारीले भने, ‘उहाँले विचार गरौँला भन्नुभएको थियो, हुन्छ चाहिँ भन्नुभएन, तर टिकट पाउनेमा ढुक्क छु ।’

पार्टीले उम्मेदवारको टुङ्गो नलगाइसकेका बेला विभिन्न अफवाह फैलाएर मतदातालाई भ्रममा पार्ने काम गरिएको उनको आरोप छ ।

पाँचदलिय गठबन्धनको टिकट बाँडफाँडको समहति अनुसार कैलालीमा कांग्रेसले ३ निर्वाचन क्षेत्र पाएको छ । कैलाली क्षत्र नम्बर २, ४ र ५ मा कांग्रेसले सिट पाएकोमा कैलाली ४ बाट कांग्रेसका प्रदेशसभापति वीरबहादुर बलायरलाई उम्मेदवार बनाइने सम्भावना प्रबल रहेको कांग्रेस नेता बताउँछन् ।

बलाएरले आफूले कैलाली ४ बाट टिकट पाउने निश्चित भएको भन्दै सहयोगका लागि विभिन्न माध्यमबाट अपिलसमेत गरिरहेका छन् ।

टोडीमा एकिकृत समाजवादीका तर्फबाट प्रेमबहादुर आलेले टिकट पाउने निश्चित भएपछि कांग्रेस प्रदेश सभापति बलाएर कैलाली ४ बाट चुनाव लड्न लागेका हुन् ।