बडादशैँको उपलक्ष्यमा शुभकामना मन्तव्य दिँदै ओलीले भन्नुभयो- ‘मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा छैन’
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
बडादशैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा गृहजिल्ला झापाको बिर्तामोडमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताउनुभयो ।
‘हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो, प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन’ भन्दै उहाँले दलहरूबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा दशैँको सांस्कृतिक, सामाजिक र पौराणिक महत्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा नभएको बताउनुभयो ।
उहाँले २०५१ सालदेखि गृहजिल्लामा दशैँको महानवमीका अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ ।
प्रतिक्रिया