निर्वाचन क्षेत्र बाँडफाँट आजै सिध्याउने सत्तारुढ गठबन्धनको तयारी

निर्वाचन क्षेत्र बाँडफाँट आजै सिध्याउने सत्तारुढ गठबन्धनको तयारी


जसपा सहभागी नभए पनि लोसपाको उपस्थिति

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ ।

आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिएका छन् । बिहीबारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।

लोसपाका नेता अनिल झाले सत्तारुढ गठबन्धनको वार्ताका आधारमा तालमेल हुने वा नहुने निश्चित हुने जानकारी दिएका छन् ।

कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने उनको भनाइ छ ।् निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रुपमा दिन निर्णायक वार्ता भइरहेको बताइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ । यसका लागि अब भोलिसम्म समय बाँकी रहेकाले पनि आजै बाँडफाँट सक्न चार दल लागेका हुन् ।

सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको बताइएको छ ।