आरजु राणाद्वारा प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

आरजु राणाद्वारा प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वारिसनामामार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्मेदवारी दर्ता भएको छ । देउवाको तर्फबाट उहाँकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उम्मेदवारी दर्ता गराएकी हुन् ।

सभापति देउवाले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिएका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेस जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा.राणा शनिबार बेलुका नै डडेल्धुरा आईपगेकी थिइन् ।

डडेल्धुराबाट विसं २०४८ मा देउवा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यस यताका सबै आमनिर्वाचनहरुमा उनि निर्वाचित हुँदै आएका छन् । उनले प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालकोे निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित भएका थिए ।

देउवा पटक पटक गरी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवा २०४८ सालयतादेखि डडेल्धुराबाट अपराजित छन् । तर, अहिले देउवाविरुद्ध चुनावी मैदानमा दुई नयाँ अनुहार छन् । नेपाली कांग्रेस डडेल्धुराका पूर्व पार्टी सभापति कर्णबहादुर मल्ल र सागर ढकाल देउवाका प्रतिस्पर्धी हुन् । मल्ल एमालेको समर्थनमा नेपाली कांग्रेस बिपीबाट चुनावी मैदानमा होमिएका हुन् भने ढकाल स्वतन्त्र वाट चुनावी मैदानमा होमिएका छन् । यस्तै देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन् ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का बागी उम्मेदवार विक्रम शाही, स्वतन्त्रका उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल र राप्रपाका गोविन्दराज खडायतले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाली कांग्रेस बीपीका तर्फबाट प्रधानमन्त्री देउवाको स्वकीय सचिव समेत रहेका कांग्रेस पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गर्ने जानकारी पाएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।