पार्टीबाट टिकट नपाएपछि यी नेताले दिए स्वतन्त्र उम्मेदवारी

पार्टीबाट टिकट नपाएपछि यी नेताले दिए स्वतन्त्र उम्मेदवारी


मंसिर ४ मा हुने निर्वाचनका लागि पार्टीबाट उम्मेदवारको टिकट नपाएका विभिन्न राजनीतिक दलका कतिपय नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सङ्घ तथा प्रदेशका आगामीे निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन् ।

नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले आफू ‘स्वतन्त्र बामपन्थी’ भन्दै रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको घोषणा गरेका थिए ।

एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस्तै, एमाले नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी, नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट कारबाहीमा परेका जोशी स्वतन्त्र उम्मेदवार बनेका हुन् । यस्तै, कांग्रेसका नेता अमरेशकुमार सिंहले पनि टिकट नपाएपछि सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

काठमाडौंमा क्षेत्र नं ३ मा कांग्रेसका पूर्व नगरसभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसबाट असन्तुष्ट कामपा–६ का पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेश (ख) मा महिला सङ्घ काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।