प्रधानमन्त्रीले नै फरक-फरक जन्ममितिका कागजात पेश गरेपछि…

प्रधानमन्त्रीले नै फरक-फरक जन्ममितिका कागजात पेश गरेपछि…


काङ्ग्रेस सभापति देउवाको उम्मेदवारी खारेज गर्न सप्रमाण उजुरी

  • डम्बर निदाल, डडेल्धुरा

प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी दर्ता भएको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिजो असोज २३ गते दर्ता गरिएको मनोनयनमा प्रधानमन्त्री देउवाको जन्ममिति निजको नागरिकतामा भिन्न र फोटोसहितको मतदाता परिचयपत्रमा भिन्न भएको भन्दै देउवाको उम्मेदवारीवरुद्ध उजुरी परेको हो ।

मुलुकको कार्यकारी पदमा रहेका जिम्मेवार व्यक्तिबाट झुक्याएर त्रुटीपूर्ण कागजात पेश गरेको भन्दै जन्ममिति फरक भएको कागजात पेश गरेकोमा प्रधानमन्त्री देउवाविरुद्ध नेपाली कांग्रेस बीपीका केन्द्रीय उपसभापति कर्णबहादुर मल्लले उम्मेदवारी खारेजीको माग गर्दै उजुरी पेस गरेकोे निवेदन दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नागरिकतामा २००३ साल जेठ ३१ गते उल्लेख भएकोमा मतदाता परिचयपत्रमा २००२ साल जेठ ३१ गते जन्ममिति उल्लेख भएको र, मतदाता परिचयपत्रमा मतदाताको क्रमसंख्या पनि अनियमित भएकोले निर्वाचन उम्मेदवारी प्रयोजनमा कानूनविपरितको कागजात पेश गरेकोमा आवश्यक प्रमाणसहित उजुरी दिएको निवेदक मल्लले जानकारी दिए ।

यस विषयमा नेपाली कांग्रेस (बीपी)का नेता हरिप्रसाद भट्टले यसरी कुनै पनि नेपाली नागरिकले फरक–फरक जन्ममिति प्रयोग गर्ने कुरा विद्यमान नेपालको संविधान र कानूनविपरित हुने कुरामा उच्च ओहोदामा बसेर राष्ट्रको कानून परिपालनाका साथ कार्यान्वयन गर्ने निकायका प्रमुख नै वर्षौंदेखि अनभिज्ञझैँ हुनु कानूनको उपहास भएको बताए । के प्रधानमन्त्रीको जन्ममिति सच्याउने कुनै प्रावधान संविधानमा छ भन्ने प्रश्न गर्दै कानून व्यवसायीसमेत रहेका भट्टले आफ्नो राष्ट्रिय पहिचान स्पष्ट राख्न नसक्नेले आमजनताको भावना सम्बोधन कसरी गर्छन् भन्दै आम जनताको तर्फबाट प्रश्न गरेका छन् । राज्यका आधिकारिक निकायबाट प्रदान गरिने प्रमाणहरूमा गलत व्यहोरा प्रयोग गर्ने उम्मेदवारलाई आयोगले निष्पक्ष छानविन गरि कारवाहीको भागीदार बनाउनुपर्ने उनको भनाइ छ ।

विवादित जन्ममिति र उम्मेदवारीका सम्बन्धमा कुनै व्यक्तिविशेषको मात्र नभइ डडेल्धुराका अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार एवं मतदाताको पनि सरोकार र चासोको विषय बन्नुपर्ने आम सर्वसाधारणको भनाइ छ । ‘देउवाको नेपाली नागरिकता र मतदाता नामावलीमा देखिएको फरक–फरक मितिका कारण उनी प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन अयोग्य भएकाले देउवाको मनोनयन खारिज गरिपाउन यो उजुरी गरेको छु’, मल्लले दिएको उजुरीमा भनिएको छ । नेता मल्लले हिजो असोज २३ गते नेपाली कांग्रेस बीपीबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका थिए ।