विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशनको उदघाटन हुँदै

विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशनको उदघाटन हुँदै


‘पार्टी विभाजन भएपछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनका बारेमा धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ’

मुलुक आमनिर्वाचनमा होमिँदै गर्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशनको चटारो छ ।

चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ । काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृहजिल्ला पनि हो ।

सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन् ।

नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे महासचिव विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको बताइएको छ । सो महाधिवेसनमा कति प्रतिनिधि रहनेछन भन्नेचाहिँ खुलइएको छैन ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए । तीन वर्षअघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि विभाजन भएपछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनका बारेमा धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ ।