सडक भासिँदा बागलुङ-बेनी सडकमा यातायात प्रभावित, यात्रुको बिचल्ली

सडक भासिँदा बागलुङ-बेनी सडकमा यातायात प्रभावित, यात्रुको बिचल्ली


  • तस्बिर रासस

बेनी नगरपालिका-१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ-बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ ।

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका-१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा-बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ-बेनी सडक प्रयोग गर्दै आएका छन् ।

पहिराका कारण सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । एक हप्तायता रइनेडाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी-बागलुङ सडक अवरुद्ध हुन थालेको छ ।

ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिराको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनि उकालो सडक उक्लन नसकेर जाम हुने गरेको र दुर्घटनाको जोखिमका साथै सास्ती बढेको सो सडकमा गुड्ने सवारीसाधनका चालकहरुको भनाइ छ । सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म सो ठाउँमा सडक अवरुद्ध बनेको थियो । दैनिकजसो यस्तै समस्या हुने गरेको यातायात व्यवसायी र यात्रुले बताएका छन् । जङ्गलको बीचमा घण्टौँ जाममा फस्नुपर्दा खानेकुरा र पानी नपाउने, शौचालयको समस्या छ, बिरामीलाई समयमा अस्पताल पुऱ्याउन समस्या भएको छ । वृद्धवृद्धा, बालबालिकाको झनै बिचल्ली भएको छ ।

केही दिनयता रुइनेडाँडाको पहिरो सक्रिय भएर करिब २० मिटर सडक भासिएर ग्रेड नमिलेको र बेनीबाट बागलुङतर्फ जानेक्रममा सवारीसाधन उक्लन नसकेर फस्ने गरेका बेनपा-१ का वडाध्यक्ष टेकबहादुर थापा बताउँछन् । कालीगण्डकीको किनारबाट सडकभन्दा माथिसम्म पहिरो रहेको र यसलाई नियन्त्रणका लागि छुट्टै योजना माग गर्ने उनको भनाइ छ ।