अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई


यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका तीन अर्थशास्त्री बेन बर्नान्के, डगलस डायमण्ड र फिलिप डिब्भिगलाई प्रदान गरिने भएको छ । बैंक तथा वित्तीय संकटमा गरेको उल्लेख्य कार्यका लागि उनीहरूलाई सो पुरस्कार दिइने भएको हो ।

बर्नान्के अमेरिकी केन्द्रीय बैंकका पूर्वअध्यक्ष तथा थिंक ट्यांक ब्रुकिङ इन्स्टिच्युटका विज्ञ हुन् भने डायमन्ड युनिभर्सिटी अफ शिकागोका प्राध्यापक र डिब्भिग वासिंगटन युनिभर्सिटीका प्राध्यापक हुन् ।

पुरस्कारबापत १० मिलियन स्विडिस क्रोनर तीन जना अर्थशास्त्रीहरुले बराबर बाँडेर लिनेछन् । अर्थशास्त्रतर्फको पुरस्कार नोबेलको सम्झनामा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको थियो ।

सन् १९८० को दशकको प्रारम्भमा उनीहरूले गरेको कार्यका लागि रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले मान्यता दिएको थियो । उनीहरूको कार्यले बैंकको आवश्यकता, तिनीहरूको मुख्य जोखिम र पतनले कसरी वित्तीय मन्दीलाई चर्काउन सक्छ भन्नेबारे हाम्रो आधुनिक बुझाइको आधार प्रदान गरेको नोबेल एकेडेमीले जनाएको छ ।