रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी डा. निकोलस भुसाल भनिने कमल भुसालले संस्थानलाई जानकारी नै नगराई उम्मेदवारी दर्ता गरेको खुलेको छ ।
उनले आफू स्वतन्त्र भने पनि अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएका छन् । उनै भुसाल चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा एमडी तहमा अध्ययनरत विद्यार्थी हुन् । उनले बिदामा बस्नका लागि निवेदन दिए पनि उम्मेदवारी दिनेबारे संस्थानलाई जानकारी नगराएको संस्थान स्रोतले बतायो ।
‘हाम्रो रेजिन्टले हामीलाई त चुनाव लड्छु भनेको थिएन, बिदा लिएर चाहिँ गएको हो,’ स्रोतले भन्यो, ‘उहाँको विषयमा छलफल गर्नुपर्नेछ ।’ डा. भुसालविरुद्ध निर्वाचन कार्यालयमा उजुरीसमेत परिसकेको छ । नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्सा शास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।
डा. भुसालले शिक्षण अस्पतालमा काम गरेवापत सरकारबाट पारिश्रमिक समेत पाउने अस्पताल स्रोतले जानकारी दियो । ‘एमडी, एमएस पढ्नेहरूले महिनाको कम्तीमा ३०/४० हजार पाउँछन्,’ शिक्षण अस्पताल स्रोतले भन्यो, ‘पढ्ने पनि त्यहीँ र काम गर्ने पनि त्यहीँ ।’
यस्तो छ कानुनी व्यवस्था
कुनै लाभको पदमा बहाल रहेको व्यक्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि योग्य नहुने कानुनी व्यवस्था छ ।
‘यस प्रयोजनको लागि लाभको पद भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनुपर्छ,’ आयोगको सूचनामा भनिएको छ ।
त्यसैगरी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिन्छ ।
मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषय स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सकिने व्यवस्था छ । अयोग्य रहेको प्रमाणित भए निर्वाचन अधिकृतबाट त्यस्तो उम्मेदवारी बदर हुने व्यवस्था छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा-९ उपदफा १ मा उम्मेदवारको मनोनयन दर्ता भइसकेको तर, निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृत मार्फत निर्वाचन आयोग समक्ष उजुरी दिन सकिने व्यवस्था छ ।
त्यसरी प्राप्त उजुरीमा निर्वाचन अधिकृतले उम्मेदवारलाई सात दिनको म्याद दिई स्पष्टीकरण माग्नेछ । स्पष्टीकरण प्राप्त भएपछि वा म्यादभित्र स्पष्टीकरण प्राप्त नभएमा त्यसबारे निर्वाचन अधिकृतलाई अयोगलाई जानकारी गराउनुपर्ने र आयोगले सम्बन्धित उम्मेदवारसँग बुझ्न वा थप प्रमाण माग गर्नसक्ने ऐनमा उल्लेख छ ।
आयोगले प्राप्त उजुरी र संलग्न कागजातउपर जाँचबुझ गरी निर्वाचन अधिकृतबाट सात दिनभित्र उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया