जुम्ला बाढीपहिरो : थप दुई जनाको मृत्यु, ६ जना बेपत्ता

जुम्ला बाढीपहिरो : थप दुई जनाको मृत्यु, ६ जना बेपत्ता


  • रासस

एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिरोबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।

मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जिल्लाको कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गुठीचौर र हिमा गाउँपालिका एक/एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै ६ जना अझै बेपत्ता छन् ।’

सदरमुकाम खलङ्गा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ । जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा क्षति भएको छ । दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ । अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागिपरेको प्रजिअ केसरीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार अविरल वर्षाले कर्णाली राजमार्ग सञ्चालन भएको छैन । अझै दुई सातासम्म राजमार्ग सञ्चालन गर्न समय लाग्ने भएको छ । सडक डिभिजन कार्यालयले सडकमा डोजरसमेत लगाएको छ । स्थानीय तहले पनि डोजर लगाएर पहिलो प्रथामिकता भनेको राजमार्ग सञ्चालन गर्न सबै लागिपर्न जरुरी भएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । तीन सय घरपरिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।

स्थानीय तहको विपद् व्यवस्थापन समितिसँग सहकार्य समन्वय गरेर जान जिल्ला विपद् व्यवस्थापन समितिलाई सुझाव दिएको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो । सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकाभित्रका ९९ घररूपमा पूर्ण क्षति भएको छ । सिञ्जाका सबै वडामा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न वडाध्यक्षलाई खटिएको गाउँपालिकाका अध्यक्ष धितालले बताउनुभयो । अविरल वर्षाले धान बालीमा पारेको क्षतिबारे स्थानीय तहका कृषि शाखालाई सही तथ्याङ्क सङ्कलन गर्न लगाएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । नाग्म गमगडी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।