आफन्त र टोलवासी चुनावी मैदानमा उत्रिँदा चुनावी प्रतिष्पर्धा रोचक !

आफन्त र टोलवासी चुनावी मैदानमा उत्रिँदा चुनावी प्रतिष्पर्धा रोचक !


काठमाडौं निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा रोचक उम्मेदवारी परेका छन् । यसले चुनावी प्रतिस्पर्धालाई पनि रोचक बनाउने अपेक्षा स्थानीय मतदाताको छ ।

प्रतिनिधिसभामा निवर्तमान सांसद एवं पूर्वमन्त्री तथा यसअघि दुई पटक निर्वाचन जितेका राजेन्द्रकुमार केसी (राजन केसी) नेपाली कांग्रेसबाट उम्मेदवार छन् भने उनकै टोलवासी हिमेश केसी निर्वतमान संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को टिकटमा चुनाव लड्दै छन् । कीर्तिपुर नगरपालिका-६ चोभारस्थित कार्की गाउँका ६४ वर्षीय अनुभवी राजनीतिज्ञ केसी र सोही स्थानका ३९ वर्षीय युवा हिमेशको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश २ मा सत्ता गठबन्धनको एकीकृत समाजवादीबाट रमा आलेमगर उम्मेदवार छिन् भने प्रमुख प्रतिपक्षी एमालेका तर्फबाट उनकै काका रामशरण आलेमगर प्रतिस्पर्धामा छन् । एउटै दलको राजनीतिक पृष्ठभूमि रहेका काका–भतिजी एमालेमा आएको विभाजनसँगै फरक धारमा रहेका छन् ।

एउटै नाम भएका दुई जनाबीच पनि क्षेत्र नं १० मा प्रतिस्पर्धा हुने भएको छ । चन्द्रागिरि नगरपालिका–१० स्थिति गछे टोलका सूर्यबहादुर महर्जन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रदेशसभा क्षेत्र नं २ का लागि उम्मेदवार छन् भने सोही वडाको कुछे टोलका सूर्यबहादुर महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभातर्फ एक जना र त्यसभित्रका प्रदेशसभाको क्षेत्र नं १ तर्फका दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नामावली फिर्ताको समयसीमा सकिएपछि निर्वाचन आयोगले जारी गरेको अन्तिम सूचीअनुसार क्षेत्र नं १० को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल १८ जना उम्मेदवार कायम भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नौ जना र प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा १२ जना उम्मेदवार कायम भएका छन् ।