कांग्रेस नेता कुइँकेल भन्छन्- ‘ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छ’

कांग्रेस नेता कुइँकेल भन्छन्- ‘ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छ’


तीनकुने र सिनामंगल क्षेत्रको मुआब्जा र अधिग्रहणको समस्या समाधानमा आफ्नो प्रयास रहने घर्तीको भनाइ

कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौं-२ की सत्ता गठबन्धन उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरूले लिने बताएका छन् ।

शनिबार काठमाडौं-२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभइ कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको तर्क गरे । घर्तीजत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु काठमाडौं-२ का मतदाताका लागि खुसीको कुरा भएको कुइँकुलको भनाइ छ।

‘ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ, उहाँलाई जिताउने जिम्मा हाम्रो हो । काठमाण्डु-२ का कांग्रेसजन र समाजवादीको पनि हो’, उनले भने- ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो ।’

संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुखका रुपमा संविधानअनुसारका कानुन निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नितेश पौडेलले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन पक्षधर उम्मेदवार पराजित हुने दाबी गरे भने पूर्वसभामुख घर्तीले आफूलाई एक महिनाको समय दिन कार्यक्रममा सहभागी सबै दलका नेता कार्यकर्तालाई आग्रह गरिन् । आफूलाई एक महिनाको समय दिन भन्दै उनले काठमाण्डु-२ का लागि आफूले पाँच वर्ष दिने बताइन् । उनले वर्तमान संविधान र राजनीतिक व्यवस्था स्वर्गीय कांग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको साझा मिशन भएको उल्लेख गरिन् ।

‘गिरिजाबाबु, कमरेड प्रचण्ड र कमरेड माधव नेपाल मिलेर अघि बढाउनु भएको शान्ति र संविधानको मिशन हो’, उनले भनिन्, ‘अहिले व्यवस्था र संविधानमाथि प्रतिगामीहरुले आक्रमण गरिरहेका छन्, यो रोक्न बाम लोकतान्त्रिक गठबन्धन बनेको हो ।’ घर्तीले काठमाडौं-२ को समग्र विकासका साथै तीनकुने र सिनामंगल क्षेत्रको मुआब्जा र अधिग्रहणको समस्या समाधानमा आफ्नो प्रयास रहने बताइन् ।