सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ बाट डा. अम्रेशकुमार सिंहलाई पन्छाउने उद्देश्यका साथ उक्त क्षेत्रबाट उम्मेदवार बन्न तयार भएका गगन थापा अन्तिम क्षणमा आएर किन सर्लाही गएनन् भन्ने रोचक विवरण घटना र विचारलाई प्राप्त भएको छ ।
सर्लाही काङ्ग्रेसका सभापति सुरेन्द्र सिंह डा. अम्रेशका विरुद्ध केही वर्षयता हात धोएर लागिपरेका थिए । उनै सिंहसँग गगनको मित्रता निकै गहिरिएको थियो । गगनका ‘फाइनान्सर’का रूपमा समेत सर्लाहीमा चिनिएका सुरेन्द्रलाई लिएर गगन चीन भ्रमणमा पनि गएका थिए । तिनै सुरेन्द्रले अम्रेशलाई सर्लाहीको राजनीतिबाट पन्छाउन गगनलाई सर्लाही-४ बाट चुनाव लड्न आग्रह गर्दै आएका थिए । सभापति सुरेन्द्रले गगन एक जनाको मात्र नाम सिफारिश गरेपछि गगन आफैं दुविधामा परेका थिए । तर आफ्ना हितैषी एवम् एमसीसी प्रकरणका सहयात्री स्वर्णिम वाग्लेलाई काठमाडौं-४ मा उम्मेदवार बनाउन ‘कतैबाट’ सुझाव आएपछि गगनले आफू सर्लाहीबाट चुनाव लड्ने निर्णय गरे र, सभापति शेरबहादुर देउवालाई उक्त कुराको जानकारी पनि गराएका थिए ।
शेरबहादुर देउवाले स्वर्णिम वाग्लेलाई कुनै हालतमा टिकट नदिने स्थिति रहेको तथ्य गगनले सम्भवतः बुझेर पनि बुझेनन् । देउवा र वाग्ले दुवैजना आफूजस्तै एमसीसीको ‘प्रवक्ता’ भएकोले पनि गगन वाग्लेको टिकट नरोकिने विश्वासमा थिए । तर गगनले सर्लाहीको टिकट लिएपछि देउवाले नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई काठमाडौं-४ को टिकट दिए र, यो कुरा काङ्ग्रेसभित्र हावाझैँ फैलियो ।
यस्तो खबर पाएपछि गगनले सभापति देउवालाई भेटेर आफू सर्लाही नजाने र काठमाडौं क्षेत्र नंं ४ बाटै उम्मेदवार बन्ने निर्णयमा पुगेको जानकारी गराए । काठमाडौं-४ को टिकट अर्कैलाई दिइसकियो भनेर देउवाले गगनलाई पन्छाउने प्रयास नगरेका होइनन् । तर सर्लाहीमा डा. अम्रेशकुमार सिंह स्वतन्त्र उम्मेदवार बन्न लागेको र, आफ्ना सहयात्री स्वर्णिम वाग्ले टिकटबाट वञ्चित भइसकेको जानकारी पाएर छटपटिएका गगनले काठमाडौं-४ को टिकट आफैंलाई चाहियो भनेर गिडगिडाएपछि देउवा गगनको माग पूरा गर्न बाध्य हुनुभएको थियो । यसरी गगनलाई टिकट दिन बाध्य भएपछि नैनसिंह महरलाई दिएको टिकट फिर्ता लिइएको थियो ।
गगनले काठमाडौं-४ बाट पुनः उम्मेदवारी त दिएका छन्, यसपटक परिस्थिति उनको अनुकुल देखिँदैन । एमालेले नयाँ अनुहारलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको भए यसपटक उक्त क्षेत्रमा गगनको पराजय निश्चित मानिएको थियो । पुरानै उम्मेदवार राजन भट्टराईलाई टिकट दिइएकोले उक्त निर्वाचन क्षेत्रमा दुईजनाबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया