प्रचण्डले गोरखा-२ बाट उम्मेदवारी दिएपछि चितवनको राजनीतिक रौनकमा कमी आएको महसूस चितवनवासीले गरेका छन् । चितवनको एक नम्बर क्षेत्रमा एमालेका तर्फबाट सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन् भने त्रिशुल चिन्ह भएका एकीकृत शक्ति नेपालका तर्फबाट नवीन खड्का अघि सरेका छन् । त्यस्तै, आरजु राणाले उलिएन्स स्कूलका सहयात्री विश्व पौडेललाई काङ्ग्रेसको उम्मेदवार बनाएर प्रस्तुत गरेकी छन् । क्षेत्र नं. २ मा काङ्ग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ र एमालेले कृष्णभक्त पोखरेललाई । उक्त क्षेत्रमा उमेश श्रेष्ठलाई उम्मेदवार बनाइएपछि काङ्ग्रेसका एकथरी समर्थकहरू रुष्ट बनेका छन् । रुष्ट मतदाताहरू एमालेतिर लहस्सिएको अवस्थामा कृष्णभभक्त पोखरेल तेस्रो पटक सांसद निर्वाचित हुने निश्चित मानिन्छ ।
उमेशको केही मत सञ्चारकर्म छोडेर राजनीतिमा लागेका रविकुमार लामिछानेले काट्न सक्ने अनुमान गरिएको छ । खासगरी कच्चा उमेरका केही ‘केटाकेटी’हरू लामिछानेको पछिलागेको पाइएको छ । मूल प्रतिष्पर्धा भने कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठकै बीचमा हुन सक्ने ठानिएको छ । गत निर्वाचनमा धनगढीमा उम्मेदवार बन्न पुगेकी आरजु राणामाथि ‘टुरिष्ट उम्मेदवार’ बन्न पुगेकी आरजु राणामाथि टुरिष्ट उम्मेदवारको विशेषण लागेपछि उनले धनगढी उपमहानगरमा करोडौँ रकम खर्चिएर घर किनेकी थिइन् । चितवनमा लामिछानेमाथि टुरिष्ट उम्मेदवार भएको टिप्पणी हुन थालेपछि उनले पनि तत्काल एउटा घर किनिदिएका छन् । तर कहाँको कुन कमाइले करोडौँ मूल्यको घर खरिद गरेको भन्ने प्रश्नको जवाफ फर्काउन लामिछाने असमर्थ भएको बताइन्छ । लामिछानेको स्थिति कमजोर देखिए पनि उनी जमानत बचाउन सफल हुने टिप्पणी चितवनवासीहरूले गरेका छन् ।
चितवनको ३ नं. क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डले चुनाव नलड्ने सन्देश प्रवाह भएपछि त्यहाँका काङ्ग्रेस नेताहरूले ललितपुरस्थित प्रचण्ड निवासमा पुगेर रुवाबासी गर्दै चितवनबाटै चुनाव लड्न आग्रह गरेका थिए । भरतपुरकी मेयरसमेत रहेकी छोरी रेणु दाहाल आफ्ना बाबुले चितवन छोड्न लागेको कुरालाई लिएर निकै भावुक बनेकी थिइन् । आफू चितवनमा अल्झिएर रहनुको एकमात्र कारण बाबुको राजनीति भएको बताउँदै रेणुले प्रचण्डलाई चितवन नछोड्न आग्रह गरेकी थिइन् । तर प्रचण्ड छोरीको आँशुका अगाडि पनि पग्लिएनन् । बाँदरमुढे घटनाको मुद्दा, आफ्नाविरुद्धको मोर्चाबन्दी, गोरखाबाट चुनाव लड्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेको आग्रहलाई समेत विचार गरी प्रचण्ड चितवन छोडेर गोर्खा गएको बताइन्छ । प्रचण्डका एकथरी आलोचकहरूले भने उनी आफू जसरी भए पनि चुनाव जित्ने मानसिकतामा रहेको र जसरी भए पनि चुनाव जित्ने ‘कला’ प्रयोग गर्न चितवनमा कठिन हुने, बरु गोर्खामा सजिलो हुने भएकोले उनको रोजाइमा गोर्खा परेको टिप्पणी गरेका छन् ।
चितवन ३ नम्बर क्षेत्रमा एमालेले काङ्ग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइरालालाई समर्थन गर्ने निर्णय गरेको छ । सो क्षेत्रमा जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिएका छन् । पौडेलको उम्मेदवारीले कोइरालालाई असर गर्ने सम्भावना रहेकोले सत्ता गठबन्धनका नेताहरू जगन्नाथको उम्मेदवारी कायम राख्न प्रयत्नशील छन् ।
यसैबीच चितवनमा जगन्नाथ पौडेललाई उम्मेदवारी कायम राख्न गृहमन्त्री बालकृष्ण खाणले विभिन्न प्रलोभन दिएको भन्ने चर्चासमेत चलेको छ । पौडेललाई चुनावपछि गठबन्धन सरकारले राजदूत बनाइदिने विश्वास दिलाएको मतदातामाझ चर्चाको विषय बनेको छ । पौडेल पछि हटेमा दिनेश कोइराला सजिलै विजयी बन्ने विश्वास गरिएको छ । उक्त क्षेत्रमा माओवादीले डा. भोजराज अधिकारीलाई गठबन्धनको उम्मेदवारका रूपमा अघि सारेको छ । पार्टीमा कुनै योगदान नपुऱ्याएका अधिकारीलाई उम्मेदवार बनाएको भन्दै माओवादी नेता हरि योञ्जन विद्रोही उम्मेदवार बनेका छन् । योञ्जनको विद्रोहले दिनेश कोइरालालाई लाभ पुऱ्याउने ठानिएको छ । गत निर्वाचनमा प्रचण्डसँग भिडेर अधिक चर्चामा आएका विक्रम पाण्डे यसपालि निकै पछाडि परेका छन् । मूख्य प्रतिष्पर्धा दिनेश कोइराला र भोजराज अधिकारीबीच नै हुने देखिएको छ । जे भए पनि प्रचण्डले चितवन छोडेपछि चितवनको चुनावी रौनकमा निकै ठूलो ह्रास आएको महसूस सबैलाई गराएको छ ।
प्रतिक्रिया